site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
पहिलो चरणको निर्वाचनमा ६७ हजार सुरक्षाकर्मी परिचालन, सेनाले हवाई गस्ती गर्ने 

काठमाडौं । गृहमन्त्री विमलेन्द्र निधिले आईतबार हुन लागेको स्थानीय तहको पहिलो चरणको निर्वाचनको सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको जानकारी दिँदै मतदातालाई कुनै शंका नमानी आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गरेका छन् ।

गृह मन्त्रालयमा शनिबार भएको पत्रकार सम्मेलनमा गृहमन्त्री निधिले २० वर्षपछि हुन लागेको निर्वाचनलाई अवसरका रुपमा ठानी मतदान गर्न सबैलाई आग्रह गरेका हुन् । 

पत्रकार सम्मेलनमा निधिले भने, “२० वर्षपछि हुन लागेको निर्वाचनलाई हामीले अवसरका रुपमा लिनुपर्छ, त्यसैले तपाईँ मतदाताहरु ढुक्कका साथ मतदान गर्नुहोस्, सरकारले सुरक्षा व्यवस्थामा कुनै कमी राखेको छैन ।” 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले थपे, “निर्वाचन अगावै देशका सबै सुरक्षा निकायका प्रतिनिधि बसेर निर्वाचन सुरक्षा योजना बनाएर लागु गरेका छौं, तपाईँहरु ढुक्क हुनुहोस् ।”


६७ हजार सुरक्षाकर्मी परिचालन, सेनाले हवाई गस्ती गर्ने 
स्थानीय तहको पहिलो चरणको निर्वाचनमा ६८ हजार ९ सय १६ जना सुरक्षाकर्मी परिचालन गरिएको गृहमन्त्री निधिले जानकारी दिए । 
उनका अनुसार २२ हजार ५ सय ६९ नेपाल प्रहरी, १७ हजार २ सय ५६ सशस्त्र प्रहरी, सय ३ सय ८३ जना राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी र  २२ हजार ६ सय २ म्यादी प्रहरी परिचालन गरिएको छ ।

त्यसैगरी निर्वाचनमा आवश्यक नेपाली सेनालाई व्याकअपका रुपमा खटाइने र ५ हजार प्रहरी रिजर्भ फोर्सका रुपमा तैनाथ राखिने मन्त्री निधिले जानकारी दिए । 

निर्वाचनको पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र बाहिरी घेरामा नेपाली सेना रहने र सेनाले हवाई तथा स्थल गस्ती गर्ने समेत मन्त्री निधिले जनाए ।  त्यसैगरी सरकारले मतदान स्थलहरुलाई सामान्य, संवेदनशील र अति संवेदनशील गरेर छुट्याएको उनले बताए ।

“हामीले पहिलो चरणमा हुने निर्वाचन स्थललाई तीन चरणमा बिभाजन गरेका छौं, त्यहीअनुसार सुरक्षा परिचालन गरेका छौं, सुरक्षाका कारणबस कुन मतदान भनेर अहिले तोक्न मिल्दैन,” उनले भने ।

निर्वाचन विथोल्न खोज्नेलाई कडा कारवाही गर्ने 
निर्वाचन विरोधी गतिविधि गर्नेलाई कडा कारवाही गर्ने चेतावनी दिएका छन् । राष्ट्र नै निर्वाचनका बेला होमिएका बेला कुनै व्यक्ति वा समूहले निर्वाचन विरोधी गतिविधि गर्नु अपराध भएको टिप्पणी गरे । त्यस्ता समुहलाई निगरानीमा राखिएको पनि उनले बताए ।
 

प्रकाशित मिति: शनिबार, वैशाख ३०, २०७४  १७:५८
प्रतिक्रिया दिनुहोस्