site stats
बाह्रखरी :: Baahrakhari
देश
गृहमन्त्री भन्छन्– बढुवामा व्यापारी र नेताको हात थाप्ने दिन गए 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । गृहमन्त्री जनार्दन शर्माले प्रहरी बढुवामा व्यापारी र राजनीतिक नेतासँग हात फिजाउँने दिनको अन्त्य भएको बताएका छन् । 
बुधबार गृहमन्त्रीको पदभार सम्हालेका शर्माले बिहीबार दिउँसो प्रहरी प्रधान कार्यालयको निरीक्षण गर्दै प्रहरी बढुवा तथा सरुवा सिस्टममा चल्नुपर्ने भन्दै आफु कसैको भनसुनमा नलाग्ने जनाए । 
प्रहरी प्रधान कार्यालयको निरीक्षणपछि मन्त्री शर्माले  भने, “संगठन आफ्नो नियममा चल्छ, आफ्नो स्वार्थ पूरा गर्न राजनीतिक सहयोग चाहिँदैन, चेनअफ कमाण्डअनुसार संगठन चल्नुपर्छ । म त्यो कुरालाई स्थापित गराएरै छाड्छु ।”
गृह मन्त्री शर्माले प्रहरीका समस्या र चुनौतीलाई पूरा गर्न आफु तत्पर रहेको भन्दै ३ देखि ५ दिनभित्रमा सुझाव पेस गर्न निर्देशन दिएका छन् । 
निरीक्षणपछि प्रहरी अधिकारीलाई निर्देशन दिँदै मन्त्री शर्माले भने, “म गरेर देखाउँछु, जनता र सिपाही कमाण्डरका मुल आधार हुन्, म भनेर हैन गरेर देखाउने छु, त्यसपछि तपाईहरुले मान्नुहुनेछ ।”
गृहमन्त्री शर्माले  प्रहरीको बढुवा नियमअनुसार गर्ने भन्दै त्यसमा कसैको दबाव नरहने बताए ।
“लामो समयदेखि बढुवा नभएर खाली भएको स्थानमा संगठनको नीति नियमअनुसार बढुवा गर्दा हुन्छ, त्यसमा कसैको अवरोध हुँदैन,” उनले भने । 
संगठनको विकासलाई पनि उत्तिकै ध्यान दिनुपर्ने मन्त्री शर्माको भनाई छ । “डिजिटल प्रहरी बनाउनुपर्छ त्यसमा के गर्नुपर्छ म तयार छु,” उनले भने । 
मन्त्री शर्माले कसैको दबाबमा नरहेर निष्पक्ष ढंगले शान्तिसुरक्षा कायम गर्न प्रहरीलाई निर्देशन दिँदै पहिलो चरणको निर्वाचनमा प्रहरीको कामको प्रशंशा गर्दै दोस्रो चरणको निर्वाचन सुरक्षामा गम्भीर भएर लाग्न निर्देशन दिएका छन् । 
निरीक्षणमा प्रहरी महानिरिक्षक प्रकाश अर्यालले दोस्रो चरणको स्थानीय निकायको निर्वाचन सम्पन्न गराउन प्रहरी कटिवद्ध भएर लागिपर्ने बताए ।
महानिरीक्षक अर्यालले लामो समयदेखि संगठनमा बढुवा हुन नसकेर थुप्रै समस्या देखिएको भन्दै तत्काल प्रक्रिया अघि बढाउनुपर्ने बताएका थिए ।
गृहमन्त्रीलाई जानकारी गराउँदै प्रहरी महानिरीक्षक अर्यालले बहुसंख्यक प्रहरी कर्मचारीमा संघीयताको कार्यान्वयनसँगै प्रहरी संगठनको स्वरुप र आफ्नो भविश्य के हुने भन्नेबारे चिन्तित भएको जनाउँदै संगठनको नयाँ स्वरुपमा जोड दिएका थिए ।
अपराधीहरु प्रविधियुक्त भएको भन्दै सो अनुसार  प्रहरीलाई स्रोत साधनको व्यवस्थापन गर्न जरुरी रहेको बताए ।

प्रकाशित मिति: बिहीबार, जेठ २५, २०७४  २०:०२
प्रतिक्रिया दिनुहोस्