site stats
बाह्रखरी :: Baahrakhari
देश
नेपालमा वार्षिक २० हजार नयाँ क्यान्सरका बिरामी : आधाभन्दा बढीको मृत्यु 

चितवन । नेपालमा वार्षिक क्यान्सरका २० हजारभन्दा बढी बिरामी थपिने गरेका छन् । त्यसमध्ये आधाभन्दा बढीको मृत्यु हुने गरेको देखिएको छ ।

एक अध्ययनानुसार नेपालमा वार्षिक २० देखि २५ हजार क्यान्सरका नयांँ बिरामी थपिन्छन् । तीमध्ये १२ देखि १३ हजारजनाको मृत्यु हुने आकलन गरिएको हो ।

१७औँ राष्ट्रिय क्यान्सर सतर्कता दिवसको अवसर पारेर शनिबार भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा चिकित्सक विशेषज्ञले देशभर वार्षिक २ देखि ३ प्रतिशतले क्यान्सरका बिरामी थपिने गरेको बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल सञ्चालक समितिका अध्यक्ष डा. निर्मल लामिछानेले देशभर थपिने क्यान्सरका बिरामीमध्ये आफ्नो अस्पतालमा मात्रै छदेखि सात हजारको संख्यामा आउने गरेको बताए ।

“वार्षिक क्यान्सर बिरामीको संख्या बढ्दै गएको छ,” उनले भने, “अधिकांशको मृत्यु ढिला उपचारका कारण हुने गरेको छ ।”

सुरुवाती चरणमा क्यान्सर लागे पनि थाहा नपाउने र हेलचेक्र्याइँ गर्ने तथा अन्तिम चरणमा मात्र अस्पताल आउंँदा बिरामी बचाउन नसकिएका कारण पनि नयाँ क्यान्सरका बिरामीसँगै मृत्युदर बढेको डा. लामिछानेको भनाइ छ । क्यान्सरको उपचार महँगो र सबैको पहुँचमा सहज उपचार पुग्न नसकेका कारण पनि मृत्युको संख्या बढेको उनी बताउँछन् ।

सबैभन्दा बढी क्यान्सर बिरामी फोक्सोका 
नेपालमा हुने क्यान्सरका बिरामीमध्ये सबैभन्दा बढी फोक्सो क्यान्सरका बिरामी भएको पाइएको छ । सुर्ती तथा मदिराजन्य पदार्थको बढी प्रयोगका कारण अन्य अंंगका क्यान्सरमध्ये फोक्सो क्यान्सरका बिरामी बढी देखिएको चिकित्सक विशेषज्ञले बताएका छन् ।

“नेपालमा सुर्ती तथा मदिराजन्य पदार्थको प्रयोग पनि बढेको छ,” अस्पतालका उपनिर्देशक डा. कृष्णसागर शर्माले भने, “विषादी छरिएका खाना र प्रदूषणले पनि क्यान्सरका बिरामी बढेका हुन् ।’ फोक्सो क्यान्सरका बिरामी बढी हुने र उपचार पनि जटिल हुने भएकाले मृत्युदर पनि उही अनुपातमा हुने गरेको शर्माको भनाइ छ ।

फोक्सोको क्यान्सरपछि महिलाको स्तन क्यान्सर, पाठेघर क्यान्सर, रक्त क्यान्सर, आन्द्राको क्यान्सर र नाक, कान, घाँटीको क्यान्सरका बिरामी बढी हुने गरेका छन् ।

बालबालिकामा हुने रक्त क्यान्सरको दर पनि बढ्दो  
पछिल्ला वर्षहरूमा बालबालिकामा हुने रक्त क्यान्सरका बिरामीहरू पनि बढेका छन् । एक अध्ययानुसार पहिले विश्वमा १० लाख बालबालिकामध्ये १२० जनामा रक्त क्यान्सर देखिन्थ्यो । पछिल्ला वर्षहरूमा १० लाखमध्ये १४० बालबालिकामा क्यान्सर रोग देखिने गरेको छ ।

क्यान्सर सरुवा रोग नभएता पनि वंशाणुगत गुण, खानपान र जीवनशैलीका कारण हरेक किसिमका क्यान्सरका बिरामी बढेको डा. शर्माले बताए ।

प्रकाशित मिति: शनिबार, असोज ९, २०७८  १५:१९
प्रतिक्रिया दिनुहोस्