site stats
बाह्रखरी :: Baahrakhari
देश

काठमाडौं । पछिल्लो साता नियम मिचेर कारबाहीमा पर्ने सवारी चालकको संख्यामा कमी आएको ट्राफिक प्रहरीले जनाएको छ । सवारी नियम तोडेर कारबाहीमा पर्नेको संख्यामा कमी आएको महाशाखाको दाबी छ । सडक नियम उल्लंघन गर्नेको संख्या करिब ४५ प्रतिशतले घटेको महाशाखाले बताएको छ । 

ट्राफिक प्रहरीले साउन महिनाका दुईसाताको अवधीमा नियम उल्लंघन गर्नेको संख्यामा कमी आएको बताएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

१० गतेदेखि ८ दिनको अवधिमा उपत्यकाभरका ट्राफिक प्रहरीले करिब १० हजार सवारी चालकलाई विभिन्न कसुरमा जरिबानाका लागि चिट काटेका छन् ।

तर त्यो भन्दा अघिल्लो साता यसको झण्डै दोब्बर चिट काटिएको महाशाखाले जनाएको छ ।

साउन १ गतेदेखि ९ गतेसम्म उपत्यकाभरका ट्राफिक प्रहरीले करिब १७ हजार सवारी चालकलाई विभिन्न कसुरमा कारबाहीका लागि चिट काटेको तथ्यांक प्रहरी महाशाखामा छ । 

ट्राफिक प्रहरीको नेतृत्व सम्हालेलगत्तै एसएसपी सर्वेन्द्र खनालले उपत्यकाका सडकमा माइक्रोबस र अन्य सार्वजनिक यातायातका चालकको ज्यादती धेरै भएको गुनासो बढेपछि माइक्रो बसलगायतका धनीलाई भेला गरी आफ्ना चालकलाई ठिक राउँमा राख्न निर्देशन दिएका थिए । 

उनको निर्देशन थियो, “२–४ रुपैयाँको लोभमा नपर्नुस् । तपार्इंका चालक र सहचालकले सडकमा निकै ताण्डव देखाउने गरेको मलाई गुनासो आएको छ । सडक सबैको हो, सडकलाई मर्यादित बनाउन तपाईंहरुकै हात हुन्छ, आफ्ना चालकलाई ठिक ठाउँमा राखिदिनुस् ।” 

“ट्राफिक प्रहरी सडकमा जरिबाना गर्नका लागिमात्र बसेको हैन,” ट्राफिक प्रमुख खनाल भन्छन्, “सडक व्यवस्थापन गर्न बसेको ट्राफिकले राजश्व संकलनमा ध्यान दिँदैन । गल्ती गरेकालाई अबदेखि गल्ती नगर है भनेर जरिबाना गरेको हो, गल्ती नगर्दा कारबाहीमा परिँदैन । त्यो कुरा चालकले बुझ्नुपर्यो ।”
 

प्रकाशित मिति: बुधबार, साउन १८, २०७४  १२:५३
प्रतिक्रिया दिनुहोस्