site stats
बाह्रखरी :: Baahrakhari
देश

काठमाडौं । सार्वजनिक सवारीसाधनमा हुने बेथिति रोक्न प्रहरीले आजदेखि अप्रेशन ‘सेफ्टी पिन’ सुरु गरेको छ । यो अप्रेशन काठमाडौं, भक्तपुर र ललितपुरका सडकमा चल्ने सार्वजनिक सवारी साधनमा सुरु गरिएको प्रहरीले जनाएको छ । 

सार्वजनिक यातायातमा सवार गर्ने महिलामाथि यौनजन्य हिंसाका घटना धेरै हुन थालेपछि यातायात व्यवसायीको सहयोगमा अप्रेशन ‘सेफ्टी पिन’ सुरु गरेको महानगरीय आयुक्त डीआईजी बमबहादुर भण्डारीले जानकारी दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

महानगरीय प्रहरी आयुक्तको कार्यालयले अप्रेशन ‘सेफ्टी पिन’ लाई प्रभावकारी बनाउन आफू मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिएको छ । 

“उपत्यकाभर चल्ने सार्वजनिक साना तथा ठूला सवारीसाधनमा अब प्रहरीको एक टोली हुनेछ, त्यो कुरा कुनै पनि यात्रुलाई थाहा हुने छैन । बसमा सवार यात्रु त्यसमा पनि विषेशगरी महिलामाथि कसैले दुव्र्यवहार गरेमा प्रहरीले त्यस्ता व्यक्तिलाई नियन्त्रणमा लिएर कानुनअनुसार कारबाही गर्नेछ,” डीआईजी भण्डारीले भने ।

सार्वजनिक सवारी साधनमा सवार गर्न महिलाहरुलाई निकै मुस्किल हुने गरेको गुनासो बढेपछि प्रहरीले लामो समयको अध्ययनपछि उक्त अप्रेशन थालेको डीआईजी भण्डारीले बताए ।उनका अनुसार अप्रेशनसँगै महिलामाथि हुने गरेका अत्याचारका घटना रोकथाम गर्न जनचेतनामूलक कार्यक्रम पनि गरिने भएको छ । 

“अप्रेशन र चेतना अभियान सँगै सुरु गरेका छौं,” डीआईजी भण्डारीले भने, “सवारी साधनमा एक समूहमा प्रहरीहरु परिचालित छन्, उनीहरुलाई कसैले चिन्दैन । यात्रीका भेषमा गाडीभित्र बसेका प्रहरीले महिलामाथि कुनै व्यक्तिले दुःख दिएको देखिए पक्राउ गरी कानुनी कारवाहीका लागी नजिकको प्रहरीलाई जिम्मा लगाउने छ । सडक तथा विभिन्न स्थानमा चेतनाका अभियान पनि सँगै लैजाने छौं ।”

के हो ‘सेफ्टी पिन’ अप्रेशन ?

‘सेफ्टी पिन’ अप्रेशन सार्वजनिक सवारी साधनमा महिलामाथि हुने यौनजन्य हिंसा अन्त्यका लागि प्रहरीले थालेको एक कारबाही नै हो ।  सार्वजनिक सवारी साधनमा सवार गर्ने महिलाहरुलाई दुःख दिने गलत मनसाय राखेर धकेल्ने तथा नजिक टाँसिन खोज्नेलाई केही नभनी आफूसँग भएको ‘सेफ्टी पिन’ले घोचेपछि दुःख दिने व्यक्ति ‘साइज’मा आउने गरेको महिलाहरुको अनुभवलाई नै प्रहरीले अप्रेशनको नाम दिइएको जनाएको छ ।
 

प्रकाशित मिति: बुधबार, साउन १८, २०७४  १६:५५
प्रतिक्रिया दिनुहोस्