site stats
बाह्रखरी :: Baahrakhari
देश

काठमाडौं । सार्वजनिक सवारी साधनमा हुने बेथिति रोक्न प्रहरीले सुरु गरेको अप्रेशन (सेफ्टी पिन) मा २ जना पाकेटमारसहित ८ जना  परेका छन् ।

‘सेफ्टी पिन’ मा परेका ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले सवारी साधनको बेथिति रोक्न चालेको अभियानलाई ‘सेफ्टी पिन’ नाम दिएको छ ।

प्रहरीको अप्रेशन (सेफ्टी पिन) काठमाडौं, भक्तपुर र ललितपुरमा जारी छ । यी तीन जिल्लाका सडकमा चल्ने सार्वजनिक सवारी साधनमा प्रहरी टोली सादा पोशाकमा परिचालित छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौंका विभिन्न सडकमा चल्ने सवारी साधनभित्र २० वटा प्रहरी टोली परिचालित छ भने ललितपुरमा १० र भक्तपुरमा ३ टोली सडकमा गुड्ने सवारी साधनभित्र परिचालित छन् ।

यसरी परिचालित भएको प्रहरीबारे बसका चालकबाहेक अन्य व्यक्तिलाई थाहा हुँदैन । कतिपय स्थानमा बसका चालकलाई पनि यिनीहरु प्रहरी हुन् भन्ने कुरा थाहा हुँदैन । तर चलिरहेको बसमा सादा पोशाकका प्रहरी बसेका हुन्छन् ।

बसभित्र कसैले महिला, बालबालिकामाथि नराम्रो व्यवहार गरेको पाइएमा तत्काल पक्राउ गर्दै आएको छ ।

महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रवक्ता एसएसपी पूर्णचन्द वस्तीका अनुसार अप्रेशन ‘सेफ्टी पिन’ ८ जना परिसकेका छन् । उनीहरुलाई पक्राउ गरेर हिरासतमा राखिएको छ ।

“सार्वजनिक यातायातमा सवार महिलामाथी यौनजन्य हिँसाका घटना धेरै हुने गरेको गुनासो आएपछि हामीले यातायात व्यवसायीसँग मिलेर यो अप्रेशन सुरु गरेका हौं,” प्रवक्ता वस्तीले भने, “सुरुमा जसरी गुनासो आएको थियो त्यो समस्या देखिएन । तर हामीले यसअघिनै सार्वजनिक रुपमा सूचना र प्रचार प्रसार धेरै गरेकाले पक्राउ पर्ने डरले त्यस्ता व्यक्तिले आफ्नो बानी सुधारेको हुनुपर्छ ।”

उनले आफूहरुको यो अप्रेसनमा बसमा रहेका पाकेटमार पनि परेको बताए ।

“बानेश्वरबाट हामीले दुई पाकेटमारलाई पनि यसै अप्रेशन अन्तर्गत पक्राउ गरेका छौं, ” उनले भने ।  यसरी पक्राउ गरेकालाई एकदिन थुनामा राखेर अनुसन्धान गर्ने अनि त्यसको कामको प्रकृति हेरेर कारवाही गरिने उनले जानकारी दिए ।
 

प्रकाशित मिति: सोमबार, साउन २३, २०७४  १४:४२
प्रतिक्रिया दिनुहोस्