site stats
बाह्रखरी :: Baahrakhari
देश
कसरी हाने खत्रीले आफैंलाई कन्चटमा गोली ?

काठमाडौंं । सोमबार दिउँसो २५ वर्षिय प्रवीण खत्री ललितपुरको कुसुन्तीस्थित घरमा बसिरहेका थिए ।  आईतबार साँझतिर उनले स्थानीय युवाहरुलाई हतियार देखाएर तर्साएको खबर महानगरीय अपराध महाशाखाले थाहा पाएको थियो । 

प्रहरीको दाबीअनुसार १० वर्षदेखि खत्री लागुऔषध र हातहतियारको कारोबारी समेत हुन् । 

सोमबार दिउँसो महानगरीय अपराध अनुसन्धान महाशाखाको विषेश टोली खत्रीको घर पुगेको थियो । खत्रीसँग हतियार र लागुऔषध छ भन्ने पक्का भएपछि मात्र महाशाखाको टोली त्यहाँ पुगेको प्रहरीले जानकारी दिएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

महाशाखाको टोली त्यहाँ पुग्दा भित्रबाट ढोका लगाइएको थियो । प्रहरीले केहीबेरसम्म ढोका खोल्ने प्रयास गरेपछि ढोका खुलेन बरु खत्री प्रहरीलाई छल्न कौसीबाट भाग्ने प्रयास गरे । प्रहरीले चारैतिरबाट घर घेरा हालेको खत्रीले आशंका गरिसकेको प्रहरी अनुमान छ ।

“सुरुमा प्रहरीले उनीमाथी गोली चलाएको थिएन, दुबै हातमा पेस्तालसहित घरको कौसीबाट पछिल्तिर रहेको चौरमा झरेपछि खत्रीले प्रहरी टोलीलाई नै गोली प्रहार गर्न थाले,” घटनास्थलमा पुगेका एक प्रहरी भन्छन्, “महाशाखाको टोलीले त्यसमाथि मात्रै उनीमाथी गोली चलाएको थियो । घरबाट हाम्फालेका खत्री झाडीमा पछारिएका थिए । त्यहीबेला नै प्रहरीलाई गोली हान्ने प्रयास खत्रीले गरेका हुन् । त्यसपछि प्रहरीले उनको घुँडाभन्दा मुनी गोली हान्यो अनि खत्री आफैंले आफ्नो कन्चटमा गोली हाने ।”

पक्राउ गर्न गएको टोलीमाथी खत्रीले गोली बर्साउन थालेपछि मात्रै प्रहरीले उनीमाथि गोली चलाउनुपरेको महानगरीय अपराध महाशाखा प्रमुख एसएसपी दिनेश अमात्यले बताए ।

एसएसपी अमात्य भन्छन्, “प्रहरीले खत्री घरभित्र नै परिवारसँग बसिरहेको थाहा पाएपछि चारैतिरबाट घेरा हाली घरभित्र छिर्न लाग्दै गर्दा आफूलाई प्रहरीले घेरा हालेको सुइँको पाए अनि गोली बर्साउँदै भाग्न खोजे र प्रहरीमाथी जाईलागे ।”

इन्काउन्टरमा मारिएका प्रविण खत्री आफैँ लागूऔषध प्रयोगकर्ता भएको प्रहरीले जनाएको छ । खत्रीले केही वर्षदेखि ब्राउन सुगर लिँदै आएको प्रहरीको दाबी छ ।

अत्याधिक लागुऔषध प्रयोग गरेपछि खत्रीलाई परिवारले सुधार केन्द्रमा समेत राखेको थियो । अत्यधिक लागुऔषध सेवनका कारण उनको फोक्सो खराब रहेको पारिवारिक स्रोतले जनाएको छ ।

गत असोजमा लागुऔषध नियन्त्रण ब्यूरोले खत्रीलाई लागुऔषधसहित पक्राउ गरेको थियो । त्यसपछि पनि उनी लागुऔषधको कारोबारमै रहेको सूचना पाएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन २४, २०७४  ०४:३४
प्रतिक्रिया दिनुहोस्