site stats
बाह्रखरी :: Baahrakhari
देश
किताबबिनै पढाइ

जनकपुरधाम । रोशनी सिंह जनकपुरधामस्थित संकटमोचन माध्यमिक विद्यालयकी छात्रा हुन् । कक्षा–९ उत्तीर्ण गरी १० मा पुगेकी उनी नियमित विद्यालयमा उपस्थित हुन्छिन् । शिक्षकले पढाएको सबै नोट गर्छिन्, सिक्छिन् । तर, गृहकार्य गर्न पाउँदिनन् । कारण, किताब छैन ।

“पढाइ सुरु भएको एक महिना बित्न लागिसक्यो । अझै किताब आएको छैन,” उनले भनिन्, “किताब नहुँदा पठनपाठनमा निकै समस्या भइरहेको छ ।”

सिंहजस्तै समस्या अनु ठाकुरले पनि सुनाइन् । “कक्षाकोठामा सरले पढाउँदा हामी सिकेका हुन्छौँ,” उनले भनिन्, “तर, किताब नहुँदा हामीले सिकेको ज्ञान अभ्यासमा ल्याउन सकेका छैनौँ । सरले सधैँ गृहकार्य दिनुहुन्छ, त्यो पूरा गर्न सकेका छैनौँ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सरस्वती उच्च माध्यमिक विद्यालय कक्षा–८ मा अध्ययनरत रोशन यादवले पनि किताब अभावकै गुनासो गरे । किताब नहुँदा पढाइमा उत्साह कम भएको उनी सुनाउँछन् ।

किताबबिनै मधेस प्रदेशका ४० प्रतिशत विद्यार्थीको पढाइ सुरु गरिएको जनक शिक्षा सामग्री केन्द्र मधेस प्रदेश कार्यालयका प्रमुख इन्द्रप्रसाद खनाल बताउँछन् । उनका अनुसार कागजको अभाव र स्थानीय तह निर्वाचनका कारण पाठ्यपुस्तक छपाइमा ढिलाइ भएको छ ।

“यसपालि स्थानीय निर्वाचनका कारण किताब छपाइमा डेढ महिना ढिला भयो,” उनले भने, “मधेस प्रदेशमा ६० प्रतिशत विद्यार्थीको हातमा किताब पुगेको छ । बाँकी विद्यार्थीले पनि छिट्टै किताब पाउने गरी हामीले काम गरिरहेका छौँ ।”

कक्षा–६ र ८ का किताब छाप्न समय लाग्न सक्ने उनको भनाइ छ । बाँकी कक्षाका किताब एक सातामै आइपुग्ने उनले बताए ।

“सामुदायिक विद्यालयमा सधैँ पाठ्यपुस्तक ढिला आउँछ,” उनले भने, “यो यस वर्षको मात्रै होइन, प्रत्येक वर्षको समस्या हो । सरकारले यसको निराकरणको लागि पूर्वतयारी र ठोस योजना ल्याउनुपर्छ ।”

सरकारले कक्षा–१ देखि १० सम्मका पाठ्यपुस्तक निःशुल्क वितरण गर्ने गरिएको छ । प्रदेशको जनक शिक्षा सामग्रीमार्फत स्थानीय तह हुँदै विद्यालयमा पाठ्यपुस्तक पुग्ने गर्छ ।

प्रकाशित मिति: शनिबार, जेठ २८, २०७९  १९:३३
प्रतिक्रिया दिनुहोस्