site stats
बाह्रखरी :: Baahrakhari
देश
जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन कार्यकारी निर्देशकसहित नौजनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन कार्यकारी निर्देशक बलराम ठाकुरसहित नौजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनीहरूले सार्वजनिक सम्पत्ति हानिनोक्सानी, हिनामिना गरी भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अख्तियारले मुद्दा दायर गरेका अन्यमा बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का लेखापाल सावित्री गिरी, प्रशासकीय अधिकृत चिरञ्जीवीराज शर्मा ढुंगाना, कम्प्युटर अधिकृत कृष्णमुरारी सिंह र सवारी चालक बिक्कीकुमार चौधरी छन् ।  

यस्तै, उपभोक्ता समितिका अध्यक्ष विजयकुमार यादव र कोषाध्यक्ष बवितादेवी साह, जनकपुरधाम उपमहानगरपालिका बस्ने ठेकेदार जितेन्द्रकुमार यादव र प्रतिवादी बलराम ठाकुरको श्रीमती इन्दुलेखा कुमारी ठाकुरविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ । 

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का कार्यकारी निर्देशकले बिना प्रक्रिया परिषद्को रकम खर्च गरेको, स्करपियो गाडी खरिद गरी बिक्री गर्दा अनियमितता गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।
अनुसन्धान हुँदा उनीहरूले ५७ लाख ७१ हजार ८४४ रुपैयाँ हिनामिना गरेको पाइएको अख्तियारद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ । 

दायर गरिएको मुद्दामा तत्कालीन कार्यकारी निर्देशक बलराम ठाकुरसँग ५१ लाख ७१ हजार ८४४ रुपैयाँ, लेखापाल सावित्रि गिरीसँग ३० लाख ७२ हजार ८४४ रुपैयाँ, प्रशासकीय अधिकृत चिरञ्जीवी शर्मा ढुंगानासँग १० लाख एक हजार ८७६ रुपैयाँ र कम्प्युटर अधिकृत कृष्ण मुरारी सिंहसँग १४ लाख ९९ हजार रुपैयाँ बिगो मागदाबी गरिएको छ । 

उपभोक्ता समिति अध्यक्ष विजयकुमार यादवसँग २० लाख ९९ हजार रुपैयाँ, कोषाध्यक्ष बवितादेवी साहसँग २० लाख ९९ हजार रुपैयाँ, जितेन्द्रकुमार यादवसँग दुई लाख रुपैयाँ र इन्दुलेखाकुमारी ठाकुरसँग ४५ लाख २२ हजार ८४५ रुपैयाँ बिगो दाबी गरिएको छ । 

 

प्रकाशित मिति: बिहीबार, असार ५, २०८२  १८:३०
प्रतिक्रिया दिनुहोस्