
काठमाडौं । काठमाडौं महानगरपालिकाको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठक रद्द भएको छ । महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार, पूर्वनिर्धारित तोकिएको बैठक रद्द भएको हो ।
"मेयरसँगको भेटवार्ताबाटै आज बस्ने सहमति भएको थियो । तर, बैठक बस्न सकेन । अब कहिले बस्छ भन्ने टुंगो छैन," उनले भने, "उपमेयरले वार्ता गरेर खबर गर्नुहुन्छ । अनि बैठकका लागि जान्छौँ ।"
महानगर स्रोतका अनुसार, महानगर प्रमुख बालेन्द्र शाह 'बालेन'ले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई बाइकट गरेर बैठक बोलाउने विकल्प खोजिरहेका छन् । यसै विषयमा बालेन र उपमेयर सुनिता डंगोलबीच छलफल भइरहेको छ ।
महानगरका सहायक प्रवक्ता ध्रुव काफ्लेले दुवै पक्षबीच धेरै कुरा मिलिसकेको बताए । "दुवै पक्षबीच धेरै कुराहरू मिल्दै गएको छ । बैठक बस्छ," उनले भने ।
समितिका सदस्य–सचिव प्रमुख प्रशासकीय अधिकृत हुने व्यवस्था छ ।
स्थानीय तहले असार १० सम्ममा बजेट पेस गर्नुपर्ने कानुनी प्रावधान छ । ६ महिना लामो विवादका कारण महानगरमा कार्यपालिका बैठक समेत बस्न सकेको छैन । बैठक नबस्दा महानगरले बजेट पनि अन्योलमा छ ।