site stats
बाह्रखरी :: Baahrakhari
देश
अवैध संरचना भत्काउन न्युरोड पुगेको नगर प्रहरी टोलीलाई व्यापारीले घेरेपछि...

काठमाडौं । अन्डरग्राउन्डमा नक्सापासविपरीत बनाइएका अवैध संरचना भत्काउने काठमाडौं महानगरपालिकाकोे अभियान जारी छ । व्यापारी–घरबेटीलाई पूर्वसूचना नदिएरै महानगरको प्रहरी टोली फिल्डमा उत्रँदै आएको छ । 

सोमबार बिहान ११ बजे न्युरोडस्थित सुरज अर्केडमा नगर प्रहरी टोली एक्कासी पुग्यो । महानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष विनोद कुमार राजभण्डारीसहित नगर प्रहरी टोलीले निरीक्षण गर्दा अन्डरग्राउन्ड पार्किङमा अवैध रुपमा व्यापार व्यवसाय सञ्चालन गरेको पाइयो । 

व्यापारीले दुई घण्टाभित्र खाली गर्ने जवाफमा नगर प्रहरीले दुई घण्टे अल्टिमेटम जारी गर्यो । त्यसपछि रुप फेसन र बी एन्ड बी कस्मेस्टिकमा निरीक्षण गरियो । निरीक्षणमा वडाध्यक्ष राजभण्डारी व्यापारीसँग कुरा गर्न अघि बढे । उनले व्यापारीसँग हात जोड्दै भने, “कति समयमा खाली गर्नुुहुन्छ ? अन्डरग्राउन्ड पार्किङ गर्ने भनेर नक्सापास गरिएको ठाउँमा यसरी व्यापार गर्न पाइँदैन नि ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

वडाध्यक्षले यति भनेपछि रुप फेसनका व्यापारीले दुई घण्टापछि सबै अन्डरग्राउन्ड खाली गर्ने बताए । नगर प्रहरी टोली बसन्तपुरस्थित महर्जन कम्प्लेक्स र बसन्तपुर प्लाजामा पुग्यो । 

तर, प्लाजा र कम्प्लेक्समा व्यापारी मात्रै भेटिए घरधनी भेटिएनन् । व्यापारीले घरधनी बाहिर गएको बताए । प्लाजाको अन्डरग्राउन्ड पार्किङमा नयाँ संरचना बन्दै गरेको भेटियो । 

सुन पसल राख्नका लागि सो संरचना बनाउन लागिएको भन्दै छिमेकीले नगर प्रहरीलाई सुनाए । नगर प्रहरी टोलीले महर्जन कम्प्लेक्सका घरधनी र व्यापारीलाई खोज्दा उनीहरु सटर बन्द गरेर भागिसकेका थिए । 

त्यसपछि, नगर प्रहरी टोली विशाल बजारभित्र पस्यो । त्यहाँ पनि घरधनी वा मालिक कोही भेटिएनन् । करिब १० मिनेटपछि एक व्यापारी नक्सापासलगायत कागजात अख्तियारले लिएको भन्दै निस्किए । केही स्थानीय सम्पदा संरक्षणकर्मीले नगर प्रहरीलाई तत्काल एक्सनमा उत्रिन सुझाए । तर, नगर प्रहरी आधिकारिक मानिस नभेटिएको भन्दै पछि हट्न बाध्य भयो । 

नगर प्रहरी प्रमुख पाण्डेका अनुसार ती घरधनीलाई २४ घन्टाभित्र नक्सापाससहित उपस्थित हुन वडा नम्बर २४ को कार्यालयमा अल्टिमेटम जारी गरिएको छ । पाण्डेले दिइएको समयभित्र वडा वा महानगरपालिकामा नक्सापाससहित उपस्थित नभए डोजरले बसन्तपुरतर्फको दुईतले बिल्डिङ भत्काउने चेतावनी दिए ।

एसपी पाण्डेका अनुसार सुरज अर्केडको अन्डरग्राउन्ड पार्किङ आजै खाली गरिँदैछ । नबिल बैंक न्युरोडले आफ्नो शाखा खिचापोखरीमा सारेको छ । बैंकले अन्डरग्राउन्डमा अवैध सञ्चालन गरेको ऋण शाखा खिचापोखरी सारेको हो ।

निरीक्षणका क्रममा माछापुच्छ्रे बैंक न्युरोड शाखाको अन्डरग्राउन्ड पार्किङ कुनै पनि प्रयोजनमा नआइएको पाइयो । त्यसपछि नगर प्रहरी टोली बिरा कम्प्लेक्सको अन्डरग्राउन्ड पार्किङ निरीक्षणमा पुग्यो । पहिलेदेखि नगर प्रहरीले आफूहरुलाई दुःख दिएको भन्दै सबै व्यापारीहरु नगर प्रहरीमाथि जाइलागे । 

नगर प्रहरी र व्यापारीबीचको चर्काचर्की भयो । व्यापारीहरुले अन्डरग्राउन्ड गोदामको रुपमा मात्रै सञ्चालन गरेको भन्दै नगर प्रहरीलाई घेरे र थर्काए । एसपी पाण्डेले नक्सापासबमोजिम कम्प्लेक्सको अन्डरग्राउन्ड पार्किङ प्रयोजनमा आउनुपर्ने अडान लिए । तर, व्यापारीहरु नगर प्रहरीमाथि जाइलाग्दा कम्प्लेक्स परिसर तनाबग्रस्त बन्यो । 

कानुनी राज्यमा आफूहरुलाई जानकारी नै नदिएर छापामार शैलीमा नगर प्रहरी पसल भत्काउन आएको भन्दै व्यापारीहरु प्रहरी टोलीमाथि जाइलागेका हुन् । दसैँको मुखमा करोडौँको व्यापार रोकेर नोक्सान पुर्‍याउन खोजेको व्यापारीको आरोप थियो । 

महानगरपालिकालाई आफूहरुले कर बुझाएको र घरधनीलाई नभनेर आफूहरुलाई दुःख दिन आएको भन्दै रिसाएका व्यापारीले सटर नै बन्द गरेर नगर प्रहरी टोलीलाई घरधनीसँग भेट गर्न लिएर गए ।  

घरधनीले नगर प्रहरी प्रमुख पाण्डे र सहरी सुव्यवस्था विभागका प्रमुख सुरज शाक्यसँग अन्डरग्राउन्ड खाली गर्ने लिखित प्रतिवद्धता गरे । लिखतअनुसार अबको केही दिनमा सो कम्प्लेक्सको अन्डरग्राउन्ड खाली हुनेछ । र, नक्सा पास भएअनुसार अन्डरग्राउन्डमा गोदाम राख्ने सहमति भएको छ ।

mahanagar-sahamati1661775938.jpg

एसपी पाण्डेले भने नगर प्रहरी कम्प्लेक्समा पुग्ने सूचना पाएपछि व्यापारीहरु एकजुट भएको दाबी गरे । उनी भन्छन्, “हामी निरीक्षण जाने थाहा पाएपछि व्यापारीहरु सबै एकजुट भएर बसेका रहेछन् । अवैध संरचना हटाउनुभन्दा उल्टै हामीलाई घेरे ।” 

अवैध संरचना भत्काउन भदौ ६ गतेदेखि महानगरका मेयर बालेन आफै फिल्डमा उत्रिएका थिए । बालेनले न्युरोडस्थित आरबी कम्प्लेक्स, काठमाडौं मल, बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्सको अवैध संरचनामा डोजर चलाएका थिए । बालेनले डोजर चलाएर अवैध संरचना भत्काउन थालेपछि व्यापारीले चर्को विरोध गरिरहेका छन् ।

यसबीचमा रत्नपार्क भोटाहिटी क्षेत्रमा बनेको अवैध संरचना भत्काइएको छ । उपत्यकाको पार्किङ समस्याको निकास दिन यस्तो कदम चालिएको मेयर बालेनले बताउँदै आएका छन् । हाल बालेनको डोजरसहितको अभियान नगर प्रहरीको कमाण्डमा अघि बढेको छ । बालेनको निशानामा महानगरभित्रका २७८ भवनहरु छन् । 

काठमाडौं मल नै अवैध रुपमा निर्माण भएको पाइएको छ । सञ्चयकोषको स्वामित्वमा रहेको भवनको दुई तला पार्किङ प्रयोजनमा ल्याउने तयारी भइरहेको छ । मेयर बालेनले अवैध संरचना भत्काउने महानगरको अभियान सधैँ जारी रहने बताएका छन् । 

अवैध संरचना आफै हटाउन भन्दै बालेनले व्यापारी र घरधनीलाई ३५ दिने अल्टिमेटम जारी पनि गरेका थिए । अल्टिमेटम अटेर गरी अवैध संरचना हटाउन नमान्ने व्यापारिक संरचनामाथि डोजर चलाउन बाध्य भएको महानगरले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, भदौ १३, २०७९  १८:०५
प्रतिक्रिया दिनुहोस्