
काठमाडौं । सडक विभागले वर्षायामको समयमा सडक खन्ने कार्यमा रोक लगाएको छ । विभागले असार ३ गतेदेखि भदौ मसान्तसम्मका लागि यो प्रतिबन्ध लागु गरेको हो ।
विभागले धारा, ढल, बिजुली, टेलिफोनजस्ता पूर्वाधार विस्तार वा मर्मतका लागि वर्षायाममा सडक खन्दा त्यसको तत्काल मर्मत सम्भव नहुने र सडक थप बिग्रिने जोखिम रहेको स्पष्ट पारेको छ ।
यही कारण सडक विभागअन्तर्गतका सबै सडक डिभिजनहरू मातहतमा पर्ने सडक खन्न स्वीकृति नदिने विभागले निर्णय गरेको छ ।
सडक विभागले कुनै पनि व्यक्तिले वा निकायले विभागबाट स्वीकृति नलिएर सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन, २०३१ बमोजिम कडा कारबाही गरिने चेतावनीसमेत दिएको छ ।
वर्षायाममा पानीको बहाव बढेर सतह कमजोर हुने भएकाले सडक खनेर मर्मत नगर्दा दुर्घटनाको जोखिम बढ्ने, पैदलयात्रु तथा सवारी चालकहरूलाई समस्या हुने भएकाले सडक जोगाउन यो कदम चालिएको विभागको भनाइ छ । विभागले प्रत्येक वर्षाको समयमा सडक खन्न बन्द गर्दै आएको छ ।