site stats
बाह्रखरी :: Baahrakhari
कला
दीपकको 'छक्का पञ्जा' र अनमोल केसीको 'छड्के' बीच भीडन्त

काठमाडौं । यही फागुन १९ गते प्रतीक्षित दुई चलचित्र रिलिजको तयारीमा छन् । नेपाली सिनेमा प्रदर्शनको इतिहासमै सबैभन्दा धेरै ग्रस कलेक्सन गर्ने ‘छक्का पञ्जा’ र ‘छड्के’को नयाँ सिरिज एकै दिन रिलिज गरिँदै छ ।

छक्का पञ्जा ‘मास अपिलिङ’ चलचित्र हो । ‘छड्के’ युवापुस्तालाई आकर्षित गर्ने सिनेमा हो । नेपाली चलचित्र क्षेत्रलाई चलायमान बनाउन सक्ने यी दुवै चलचित्र एकै दिन हलमा आउँदा फाइदा कसलाई हुन्छ ?

निर्देशक तथा वितरक प्रचण्डमान श्रेष्ठ आफ्नो मात्र राम्रो छ भनेर अर्कोको चलचित्रलाई नजरअन्दाज गर्नु अहिलेको समस्या भएको बताउँछन् । “आफ्नो चलचित्रको स्ट्रेन्थ मात्रै हेर्ने तर आफूसँगै आउन लागेको चलचित्र केही होइन भन्ने सोचले पनि एकै दिन दुई वा दुईभन्दा धेरै चलचित्र रिलिज भइरहेका छन्,” उनी भन्छन्, “कुन दिन आफ्नो चलचित्र लगाउने भन्ने अधिकार निर्माता आफैँमा रहन्छ । तर, मिति चयन गर्दा ध्यान दिन सकेको खण्डमा सबै पक्षलाई राम्रो हुन्छ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

हरेक चलचित्रको निर्माताले कुन दिन आफ्नो सिनेमा रिलिज गर्दा फाइदा हुन्छ भनेर ‘क्यालकुलेसन’ गर्ने र आफूले अनुकूल देखेको मितिमा रिलिज गर्ने गरेको उनी बताउँछन् ।

“सामान्य समयभन्दा बिदा लामो भएको दिन आउँदा फाइदा हुन्छ भनेर उसले लामो बिदा खोजिरहेको हुन्छ । उसको जस्तै सोच अर्को निर्माताको पनि हुन्छ,” उनी अगाडि थप्छन्, “मेरो चलचित्रको स्ट्रेन्थ यो हो र पर्याप्त पब्लिसिटी गर्न सकेँ भने मेरो सिनेमाले सँगै आउन लागेको सिनेमालाई पछि पार्छ भन्ने सोचले काम गरिरहेको पाइन्छ ।”

सबैले नाफाकै लागि सोचेर रिलिज डेट लिने तर त्यसको सही ‘क्यालकुलेसन’ गर्न नसक्ने र चलचित्र सवल नहुँदा पनि थप मारमा परिरहेको उनको बुझाइ छ । लामो समयअघि नै क्यालेन्डर उपलब्ध नहुनु र प्रोपर पूर्वतयारी नहुनु पनि अर्को समस्या रहेको प्रचण्डमान बताउँछन् ।

“धेरैले एकै दिन चलचित्र रिलिजका लागि डेट लिन्छन् । त्यसपछि निर्माता र वितरक कोही पनि पछि हट्न तयार हुँदैनन् । त्यसपछि इगो हुन्छ र एकै दिन चलचित्र रिलिज हुन्छन्,” प्रचण्डमान स्पष्ट पार्छन् ।

वितरकको इगोले सिनेमा जुधिरहेका छन् भन्ने टिप्पणी चलचित्र क्षेत्रमा हुँदै आएको छ । यसमा सत्यता छ भन्ने जिज्ञासामा प्रचण्डमान भन्छन्, “रिलिजमा सबैभन्दा ठूलो हात निर्माताको हुन्छ । करोडौँ लगानी गरेको सिनेमामा निर्माताबाहेक अरूको कसरी पहिलो हात हुनसक्छ ?”

आफैँले लगानी गरेर ल्याएको भए त्यस्तो चलचित्र रिलिजमा वितरकको हात हुने अन्यथा त्यसमा कुनै भूमिका नहुने उनको जिकिर छ ।

नयाँ निर्माताको हकमा रिलिज डेटमा वितरक खेल्छन् ? उनको जवाफ छ, “सिनेमा बनाउन करोडौँ लगानी गरेर आउने मान्छेले केही ने केही जानकारी लिएर नै आएको हुन्छ । जानकारी छैन भने यसबारे जान्नु पनि पर्छ । सिनेमा बनाउन आउने कोही पनि नाबालिग हुँदैन । जानकारी भएर पनि कसैको कुरामा उकासिन्छ भने त्यो फरक पाटो भयो ।”

pic vitra1677128732.jpg

दुइटा राम्रा चलचित्र एकै दिन रिलिज हुँदा खासै धेरै फरक भने नपर्ने चलचित्रकर्मीले बताउने गरेका छन् । पछिल्लो समय नयाँ मल्टिप्लेक्स थपिएका र सिंगल स्क्रिन मल्टिप्लेक्समा अपग्रेटेड हुँदा हलको संख्या बढेको छ । त्यसको प्रत्यक्ष फाइदा निर्माताले पनि लिइरहेको चलचित्रकर्मीको भनाइ छ । 

यद्यपि, सेयरमा केही मात्रामा तलमाथि हुने उनीहरू स्वीकार गर्छन् । वितरक सुनील मानन्धर निर्माता, प्रदर्शक र वितरक तीनै पक्षलाई घाटा हुने बताउँछन् ।

“बिदा हुन्छ । बिदामा आफ्नो चलचित्र रिलिज गरौँ भन्ने सबैलाई हुन्छ,” सुनील भन्छन्, “मेरो सिनेमा राम्रो छ, म जित्छु भन्ने दुवै पक्षलाई हुन्छ । यसैले चलचित्रको रिलिज डेट एकै दिन परिरहेको हुन्छ ।”

आफ्नो चलचित्रप्रतिको विश्वास र उच्च मनोबलका कारण कोही पनि पछि हट्ने अवस्था नआउँदा दुई वा त्योभन्दा धेरै चलचित्र एकै दिन रिलिज हुने गरेको उनको भनाइ छ ।

दुई वा त्योभन्दा धेरै चलचित्र एकै दिन प्रदर्शनमा आउनुको अर्को कारण प्राविधिक पक्ष पनि हो । वार्षिक सयको वरिपरि नेपाली सिनेमा रिलिज हुन्छन् । हप्ता ५२ मात्र छ । त्यसैले प्राविधिक रूपमा पनि कम्तीमा दुइटा चलचित्र एकै दिन रिलिज गर्नुपर्ने बाध्यात्मक परिस्थिति छ ।

“अर्को कारण, वितरकबीचको अस्वस्थ प्रतिस्पर्धाले पनि हो । मैले एउटा वितरकलाई सिनेमा दिएपछि अर्को वितरकले अर्को सिनेमा खोज्छ,” निर्माता तथा कलाकार दीपकराज गिरी एकै दिन अपेक्षित दुई वा सोभन्दा धेरै सिनेमा रिलिज हुनुको कारण सुनाउँछन्, “फलानोको सिनेमा आयो, म पनि त्यही सिनेमासँगै रिलिज गर्छु भन्ने वितरकबीचको अस्वस्थ प्रतिस्पर्धा अर्को कारण हो ।”

वितरक–वितरकबीचको ‘इगो’ पनि अर्को कारण रहेको उनी बताउँछन् । सार्वजनिक बिदा पनि सिनेमा एकै दिन रिलिज हुनुको अर्को महत्त्वपूर्ण पक्ष भएको दीपकको बुझाइ छ ।

“बिचौलिया पनि अर्को कारण हो । बिचौलियाले उकास्ने गरेको पनि हामीले देखेका छौँ । यो पनि अर्को समस्या हो,” उनले थपे ।

आफ्नो सिनेमा राम्रो छ भन्ने आत्मविश्वासले पनि एकै दिन दुई वा त्योभन्दा बढी चलचित्र रिलिज भइरहेको दीपक सुनाउँछन् । “सिनेमा रिलिजको समयमा निर्माता र वितरकमा देखिने आत्मविश्वास भनेको निर्वाचनको नेताजस्तै हो । मतदान हुँदासम्म मै जित्छु भन्ने हुन्छ । नतिजा नआउँदासम्म केही थाहा हुँदैन,” दीपक भन्छन्, “तर, नतिजा आउँदासम्म धेरै ढिलो भइसकेको हुन्छ । पछुताउनुको विकल्प हुँदैन ।” 

फागुन १९ गते दीपकराज गिरी मुख्य भूमिकामा रहेको चलचित्र ‘छक्का पञ्जा–४’ र अनमोल केसी मुख्य भूमिकामा रहेको सिनेमा ‘छड्के–२’ एकै दिन रिलिज गरिँदै छ ।

दुइटा चलचित्र एकै दिन आउँदा ठूलो घाटा भने नहुने वितरक प्रचण्डमान स्पष्ट पार्छन् । राम्रो चलचित्र र दर्शकको साथ पाए सुरुका दिनमा शोज बाँडिए पनि खासै घाटा नहुने उनी बताउँछन् ।

“बिदा नभएको दिनमा एक दिन हाउसफुल हुनु र तीन दिनको बिदामा दुइटा चलचित्र रिलिज हुँदा ५० प्रतिशत मात्रै अकुपेन्सी हुँदा पनि सेयरको हिसाबले बिदामै रिलिज हुँदा फाइदा हुन्छ,” उनले स्पष्ट पारे, “त्यसैले राम्रो चलचित्र एकै दिन आउँदा पनि त्यति धेरै फरक पर्दैन । स्पाइडर म्यान र पुष्पा एकै दिन आएका चलचित्र हुन् । यी दुवै चलचित्रले राम्रो व्यापार गरेका थिए ।”

प्रकाशित मिति: बिहीबार, फागुन ११, २०७९  १०:४७
प्रतिक्रिया दिनुहोस्