site stats
बाह्रखरी :: Baahrakhari
विचार
अधिनायकको खोजी !

‘अधिनायकवादी व्यवहारका प्रमुख चार सूचक’ शीर्षकमा स्टेवन लेविन्सकी र डेनियल जिबाल्टको पुस्तक ‘हाउ डेमोक्रेसिज डाई’ मा अधिनायकवादी शासकको उदयसम्बन्धमा विशद चर्चा गरिएको छ । अधिनायकवादीलाई कसरी चिन्ने भन्ने प्रश्नको उत्तरमा लेखिएको छ - '' १. कुनै राजनीतिकर्मीले वचन वा कर्मले खेलको लोकतान्त्रिक प्रक्रिया अस्वीकार गर्छ,  २. विपक्षीको वैधता मान्यता दिँदैन, ३. हिंसालाई दुरुत्साहित गर्छ वा स्वीकार गर्छ र ४. सञ्चार माध्यमलगायत विपक्षीको नागरिक स्वतन्त्रतामा प्रतिबन्ध लगाउने चाहना व्यक्त वा सङ्केत गर्छ  ।

यीमध्ये एउटामात्र मापदण्ड पूरा गर्ने राजनीतिकर्मी पनि सन्देहको पात्र बन्छ । कस्तो प्रकारको राजनीतिकर्मी अधिनायकवादको कसीमा जाँच्दा 'सकारात्मक' परिणाम निस्कन्छ ? धेरैजसो मूलधारको राजनीतिबाहिरको 'पपुलिस्ट राजनीतिकर्मी' अधिनायकवादी निस्कन्छन् । 'पपुलिस्ट'हरू जनताको आवाजको प्रतिनिधित्व गरेको दाबी गर्ने संस्थापनविरोधी राजनीतिकर्मी हुन् जो विपक्षीलाई भ्रष्ट र षड्यन्त्रकारी 'ठालु'का रूपमा चित्रण गर्छन् र तिनका विरुद्ध युद्धको घोषणा गर्छन् । 

'पपुलिस्ट'हरूले मूलधारका राजनीतिक दलहरूलाई अलोकतान्त्रिक र अराष्ट्रिय भन्दै तिनको वैधता नै अस्वीकार गर्न खोज्छन् । उनीहरु मतदातासँग विद्यमान शासन व्यवस्था वास्तविक लोकतन्त्र नभएर शासकहरूद्वारा अपहरण गरिएको वा भ्रष्ट पारिएको पद्धति हो भन्छन् । साथै उनीहरू शासकहरूलाई सखाप पारेर शासन शक्ति जनतालाई नै फर्काउने वाचा गर्छन् । पपुलिस्टले चुनाव जितेपछि तिनले धेरैजसो लोकतान्त्रिक संस्थामाथि प्रहार गर्छन् । उदाहरणका लागि ल्याटिन अमेरिकाको बोलिभिया, इक्वेडर, पेरु र भेनेजुयलामा सन् १९९० देखि २०१२ सम्ममा निर्वाचित १५ राष्ट्रपतिमध्ये पाँच जना पपुलिस्ट बाहिरिया थिए : अल्बर्टो फुजिमोरी, ह्युगो चावेज, एभो मोरालेस, लुसियो गुटेरेज र राफेल कोरिया । यी पाँचै जनाले लोकतान्त्रिक संस्थाहरू कमजोर बनाए ।''

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अवचेतनमा पञ्चायत

‘अधिनायकवादी व्यवहारका प्रमुख चार सूचक’ दिइएको तालिकामा यी विषय स्पष्ट पार्ने थप प्रश्नहरू गरिएको छ । ती प्रश्नलाई कसीका रूपमा प्रयोग गर्ने हो भने अहिले देखिएका सबै दलका नेतामा केही न केही गुण देखिन्छ । यसको अर्थ हुन्छ - अधिनायकवादी मनोकांक्षाबाट अहिलेका प्रायः सबै नेता ग्रस्त छन् । स्वाभाविकै पनि होला कारण ठूला भनिएका सबै दलका शीर्ष नेता पञ्चायत भोगेर हुर्केका हुन् । तिनको अवचेतनमा पञ्चायती शासन हुनु अस्वाभाविक होइन ।

अहिले चर्को स्वरले 'पुराना पार्टी'को विरोध गर्नेहरू धेरै अधिनायकवादी शासनको दमन नभोग्नेहरू नै छन् । तिनलाई लोकतन्त्रका प्रति खासै मोह नहुनु पटक्कै आश्चर्यको विषय होइन । तत्कालीन राजा ज्ञानेन्द्रको शासनका दिनहरूमा पनि दमन त मूलतः नेपाली कांग्रेसका केही कार्यकर्ता र माओवादीले न भोगेका हुन् । अहिले कांग्रेसमा भएकै केही त सत्ताको नजिक पुगेका थिए । उतिबेलाको नेपाली कांग्रेस (प्रजातान्त्रिक) सत्तामै गएको थियो । एमाले पनि सरकारमै पुगेको थियो । यसैले पछिल्लो अधिनायकवादी दमन भोगेकाहरूसमेत अहिले अल्पसङ्ख्यामा परिसकेका छन् ।

बालेन वा रविलाई धाप मार्नेहरूमा प्रतिगमनको सपना देख्ने अनुहार धेरै नै देखिन्छन् । अर्कातिर समर्थकहरूको ठूलो समूह यिनीहरूबाट समाज अगाडि बढ्ने सपना देख्छन् । विदेशमा बसेर अर्ती, उपदेश दिने र क्रान्तिकारी गालीपुराण बक्नेहरूको आफ्नै रोइलो छ । दोहोरो नागरिकता अमान्य हुने पछिल्लो निर्णयले कतै पैत्रिक सम्पत्ति गुम्ने त होइन भन्ने झस्को मनमा पसेको छ । अनि नेपाल सम्झन्छन् बेलाबेला ।

रवि लामिछानेलाई समर्थन गर्ने अर्को जमातका लागि भने दोहोरो नागरिकता र अधिकार 'राष्ट्रघात' लाग्छ । मधेसमा जन्मेका वा बाबु वा आमामध्ये एक नेपालीका सन्तानले नागरिकता पाउँदा नेपालै समाप्त हुने ठान्छन् । रास्वपाका वाचाल सांसदहरूले यस्ता विषयमा पार्टीको धारणा स्पष्ट पारेको सुनिएको छैन । यस्तै, अर्थतन्त्रका बहसमा पनि उनीहरू मौन नै छन् । खुद्रा मसिना प्राविधिक विषयबाहेक अरूमा तिनको बोली फुट्न गाह्रै छ ।

लोकतन्त्रको बदख्वाइँ !

खुसीको कुरा कम्युनिस्ट वा दक्षिणपन्थी कट्टरवादीप्रति जनता आकर्षित भएनन्। चिन्ताको विषय राजनीतिक प्रतिबद्धता र स्पष्टता नभएको 'पपुलिस्ट' नाराप्रति मतदाता एकोहोरिन थाले ।

पहिले सबै लोकतान्त्रिक संस्था र लोकतन्त्रका लागि सङ्घर्ष गरेका नेताहरूको  साख समाप्त पार्ने । त्यसपछि लोकतान्त्रिक प्रक्रिया, विधि र अभ्यासको विश्वसनीयतामा प्रहार गर्ने र अनि अन्ततः लोकतन्त्र नै गलत पद्धति हो भन्ने । यसले अहिले रजगज गरिरहेको वर्गको हित रक्षा हुन्छ ।

त्यसपछि लोकतन्त्रमाथि नै प्रहार गर्ने 'मिसन' बनाएरै लागेकाहरू सायद अब दोस्रो चरणमा प्रवेश गर्दैछन् ।

लोकतान्त्रिक पृष्ठभूमिका दलहरू कमजोर हुँदा के हुन्छ भन्ने उदाहरण त भारतमा देखिइसकेको छ । भारतीय राष्ट्रिय कांग्रेस कमजोर भएपछि संसारमै स्वतन्त्र र निर्भीकमध्येको मानिने त्यहाँको प्रेस 'गोदी मिडिया' बनेको छ । कांग्रेसका पछिल्ला पुस्ताका नेताको आचरण पनि पूरै लोकतान्त्रिक थिएन । तर, तिनको शासनमा प्रेस आतङ्कित भएको थिएन । नेपालमै पनि कांग्रेसको वा कांग्रेससमेतको सरकार हुँदा र नहुँदाका सञ्चार सामग्रीको विश्लेषण गरे यसको उदाहरण पक्कै देखिनेछ ।

भ्रामक भाष्य निर्माण

'देश कुनै एक जनाको आर्जन हो । कसैको पूर्खा कुनै दिन शासक भएकाले सधैँ तिनैले शासन गर्नुपर्छ । राष्ट्रियता भनेको ढुंगामाटो हो । बहुसङ्ख्यक जनताले होइन सीमित कुलीनहरूले मात्र राष्ट्र जोगाउन सक्छन् । लोकतन्त्र देश र जनताका हितमा छैन । पञ्चायतमा विकास भएको थियो र लोकतन्त्रपछि केही भएन ।' कुनै तथ्य वा तर्कले पुष्टि नगर्ने र आँखाले देखेको यथार्थलाई समेत झुटो बनाउन खोज्ने यस्तै अनर्गल भाष्य अहिले स्थापित गरिएको छ ।

यस्तै, 'वैदेशिक रोजगारीमा जानु राम्रो होइन । विदेश जाने सबै बाध्य भएर गएका हुन् । उनीहरूलाई रोजगारी सरकारले उद्योग खोलेर दिनुपर्थ्यो । नेताहरूले भ्रष्टाचार गरेकाले बजारमा महँगी बढेको हो । रवि वा बालेनहरूसँग जादूको छडी छ र तिनले जनताको मत पाएकाले विधिको सम्मान नगरे पनि हुन्छ ।' यस्तै भाष्य गाउँगाउँसम्म स्थापित गर्न खोजिएको छ ।

चिन्ताको विषय अहिले कथित पढेलेखेका भनिएकाहरू नै भ्रम फैलाउन र त्यसलाई पत्याउन अभिशप्त देखिएका छन् ।  जनताले पत्याउन थाल्नु कुन आश्चर्य भयो र ? भ्रमलाई सही ठान्नेहरूमध्ये अधिकांश लहैलहैमा लागेका हुन् र तिनको आँखा खुल्न सक्छ । तर जानाजान भ्रम फैलाउने ध्येयबाटै परिचालित भएकाहरू त लागिरहने नै भए ।अनर्गल प्रचार नेपालको राजनीतिमा नौलो होइन । प्रायः संस्थापनको हितका लागि त्यस्ता भ्रम फैलाइने गरेको हुन्छ ।

अहिलेको कांग्रेस संस्थापनकै अङ्ग बनेको छ । तर पहिले नेपाली कांग्रेस विद्रोहको पर्याय थियो । त्यसैले संस्थापनको प्रहार कांग्रेसविरुद्ध भइरह्यो । 'कांग्रेसले गाई काटेर खान्छ' भन्नेदेखि 'धर्मकर्म लोप गर्छ' भन्ने नरहरि नाथहरू । 'कांग्रेसले देश बेच्छ' भने मूर्ति चोरहरूले । उतिबेला पनि केहीले केही बेर पत्याउँथे । ती प्रायः अशिक्षित थिए ।

विडम्बना, यस्तो भाष्य स्थापित गर्न लोकतन्त्र विरोधी पृष्ठभूमिका पूर्वकर्मचारी, सञ्चारकर्मी, उद्यमी, व्यापारी, शिक्षकलगायत समाजमा प्रबुद्ध देखिने वर्गका सदस्यहरूसमेत संलग्न छन् । एकथरी त राजनीतिकर्मीको आवरणमा मैदानमै उत्रेका छन् । यी कसैमा पनि लोकतन्त्रप्रति भावनात्मक लगाव छैन । चिन्ताको विषय यही हो । सोझै भन्न सक्तैनन् लोकतन्त्र खराब भनेर । अनि लोकतान्त्रिक विधि, अभ्यास, पात्र, संस्था सबैको उछित्तो काडेर मनसुवा पूरा गर्छन् ।

प्रक्रिया आवश्यक वा महत्त्वपूर्ण होइन परिणाम भए पुग्छ भन्ने मान्यता देङको बिरालो कालो वा सेतो जस्तो भए पनि मुसा मारे पुग्छ भन्ने भाष्यकै प्रतिविम्ब हो । यो लोकतान्त्रिक मान्यता होइन । अधिनायकवादकै अर्को रूप हो । के यस्तै शासन, चरित्र र प्रवृत्ति खोजिएको हो ?

खोजी भएकै हो त अधिनायकको ? छाँटकाँट त त्यस्तै देखिन्छ ।

प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८०  ११:२९
प्रतिक्रिया दिनुहोस्