site stats
बाह्रखरी :: Baahrakhari
देश
स्वास्थ्यमा ४० प्रतिशत बजेट कटौती हुँदै, कसरी लागु होला राष्ट्रिय स्वास्थ्य वित्त रणनीति ?

काठमाडौं । लगातार दुई महिनाभन्दा बढीकोे रिक्ततापछि स्वास्थ्य मन्त्रालयले भर्खरै नयाँ मन्त्री पाएको छ । आर्थिक वर्ष २०८०/८१ का लागि बजेट आउन २० दिनमात्र बाँकी रहँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी सम्हाल्न वैशाख १९ गते नेपाली कंग्रेसका सांसद मोहनबहादुर बस्नेत आइपुगेका छन् ।

यो अवस्थामा स्वास्थ्यका कार्यक्रम कति प्राथमिकतामा पर्लान् र स्वास्थ्यले कति बजेट पाउला भन्ने सबैको चासोको विषय बनेको छ । नवनियुक्त स्वास्थ्यमन्त्री बस्नेतले आइतबार कर्मचारीहरुलाई निर्देशन दिने क्रममा आगामी आर्थिक वर्षका लागि स्वास्थ्य मन्त्रालयको बजेट करिब ४० प्रतिशतले कटौती हुन लागेको बताएका छन् । ठूलो मात्रामा बजेट कटौती हुन लागेकाले बजेट सिलिङ बढाउन आफूले नेतृत्व गर्ने र सबै कर्मचारीले त्यसमा साथ दिनुपर्ने उनले बताएका छन् ।

संघतर्फ मात्रै न्यूनतम ५१ अर्ब बजेट आवश्यक

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत अहिले चलिरहेका कार्यक्रमलाई टिकाउन मात्रै संघतर्फ ५१ अर्ब रुपैयाँ बजेट आवश्यक पर्ने स्वास्थ्यसचिव डा. रोशन पोख्रेल बताउँछन् ।  

“अहिले चलिरहेका कार्यक्रम र अत्यावश्यक खर्चका लागि मात्रै पनि कम्तीमा ५१ अर्ब रुपैयाँ चाहिन्छ । यसमा थप कार्यक्रम र खरिद राखेकै छैनौँ । भर्खरै मन्त्री नियुक्त हुनुभयो, अब बजेट सिलिङ बढ्ला भन्ने लागेको छ,” डा. पोख्रेलले भने ।

चालु आर्थिक वर्षका लागि स्वास्थ्यमा संघतर्फ ६९ अर्ब ३८ करोड, प्रदेशलाई स्वास्थ्यमा ६ अर्ब ३६ करोड र स्थानीय तहलाई २७ अर्ब ४४ करोड रुपैयाँ विनियोजन गरिएको थियो ।

यो वर्ष सरकारले ६५५ स्थानीय तहमा निर्माण सुरु गरेका आधारभूत अस्पताल सम्पन्न गर्ने लक्ष्य राखेको थियो । उपत्यकाबाहिर रुपन्देहीको सैनामैना, नवलपरासी पूर्वको देवचुली, कैलालीको लम्की, कर्णाली करिडोरको राकम र धादिङको बेल्खुमा ट्रमा सेन्टर स्थापना गर्नेजस्ता महत्वकांक्षी योजनाहरु बजेटमा घोषणा गरिएको थियो ।

तर, पूर्वाधार विकास र सेवा विस्तारका हिसाबले आर्थिक वर्ष २०७९/८० स्वास्थ्य क्षेत्रका लागि उपलब्धिमूलक हुनुको साटो झनै खस्किएको देखियो । स्वास्थ्य सेवा विभागको खर्च विवरण हेर्ने हो भने चालु आर्थिक वर्षका नौ महिनामा विभागले जम्मा ३३ प्रतिशत बजेट खर्च गरेको देखिएको छ ।

कसरी लागु होला स्वास्थ्यले १० प्रतिशत बजेट ?

सरकारले कूल बजेटको १० प्रतिशत स्वास्थ्यमा छुट्याउनुपर्ने गरी राष्ट्रिय स्वास्थ्य वित्त रणनीति, २०७९/८९ पास भएको छ । यो रणनीतिमा सरकारले वार्षिक रुपमा विनियोजन गर्ने कूल बजेटको १० प्रतिशत रकम स्वास्थ्यमा लगानी गर्नुपर्ने उल्लेख छ । यस्तै, स्वास्थ्य क्षेत्रमा लैंगिक समानता र सामाजिक समावेशीकरण रणनीतिमा स्वास्थ्यमा विपन्न वर्गको समान अधिकार स्थापित गर्ने विषय समेटिएको छ ।

स्वास्थ्य क्षेत्रको लैंगिक समानता तथा सामाजिक समावेशीकरण रणनीतिमा महिला, बालबालिका, मधेसी, दलित, पिछडिएको क्षेत्रमा बसोवास गर्ने व्यक्तिलाई स्वास्थ्यमा समान अधिकार दिनुपर्ने रणनीतिमा उल्लेख छ । 

रणनीतिमा आगामी १० वर्षभित्र स्वास्थ्य क्षेत्रको वित्तीय दायरा बढाउने, स्वास्थ्यमा भएको लगानीलाई जनउत्तरदायी र पारदर्शी बनाउने स्वास्थ्य बिमा बोर्डलाई वित्तीय रुपमा आत्मनिर्भर बनाउने जस्ता विषय उल्लेख छन् । त्यस्तै, स्वास्थ्यमा पीपीपी मोडललाई प्रभावकारी बनाउने, आयुर्वेद र वैकल्पिक चिकित्सा प्रणालीमा पर्याप्त लगानी गर्नेजस्ता विषय उल्लेख छन् ।

स्वास्थ्य मन्त्रालयले आगामी बजेटका लागि आवश्यक कार्यक्रम, पूर्वाधार, विकासलगायतका विषयहरु समेटेर ड्राफ्ट तयार पारिसकेको छ । तर, स्वास्थ्यले कति बजेट पाउने भन्ने विषय नयाँ मन्त्रीले गर्ने ‘नेगोसिएसन’मा निर्भर रहने मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०  १४:४३
प्रतिक्रिया दिनुहोस्