
काठमाडौं । ‘ग्वार्को फ्लाइओभर’ निर्माणको काम सकिएसँगै भोलिदेखि गाडी गुड्ने भएका छन् । भोलि (शुक्रबार) अपराह्न ४ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले फ्लाइओभरको उद्घाटन गर्ने तय भएको सडक विभागको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका निर्देशक दीप बाराहीले जानकारी दिए ।
“फ्लाइओभरको सबै काम सकिएको छ । भोलि प्रधानमन्त्रीले उद्घाटन गर्नुहुन्छ । लगत्तै गाडी गुड्छन,” उनले भने ।
आशीष–समानान्तर–जेभीले फ्लाइओभर निर्माण गरेको हो । अन्तर्राष्ट्रिय मापदण्डअनुसार, ‘फ्लाइओभर’को उचाइ ६ मिटर छ । बालकुमारीतर्फ २८० मिटर लामो ‘र्याम’ छ । सातादोबाटोतर्फ झर्न १७५ मिटर लम्बाइको ‘र्याम’ छ । ‘सुपर स्ट्रक्चर’ ३५ मिटर लम्बाइ भएको ‘फ्लाइओभर’को आवतजावत संरचना ४९० मिटर लामो छ ।
‘फ्लाईओभर’ माथिबाट गाडी गुडिसकेपछि मंगलबजारदेखि इमाडोल वा इमाडोलतर्फबाट मंगलबजारतर्फ जाने सवारीसाधन पुल मुनिबाट जानेछन् । चक्रपथतर्फ जाने सवारी साधन नरोकी सिधै चल्नेछन् ।
‘फ्लाइओभर’ निर्माणको कुल लागत १७ करोड ६ लाख ८८ हजार ८८८ रुपैयाँ छ ।