site stats
बाह्रखरी :: Baahrakhari
देश
सात दिनमा ३० जनामा कोरोना संक्रमण

काठमाडौं । मौसम परिवर्तनसँगै कोरोनाभाइरसको लक्षण भएका बिरामी देखिन थालेका छन् । मौसम परिवर्तनसँगै मानिसमा रुघाखोकी, ज्वरो, फ्लुजस्ता संक्रमण देखिन थालेको हो ।

इपिडिमिलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशन डा. चन्द्रभाल झाले सीमानाकामा कोरोनाभाइरसको संक्रमण देखिए पनि त्यो पनि घट्दै गएको बताए । कञ्चनपुरमा भारतबाट आएका केही व्यक्तिमा संक्रमण देखिएको उनले उल्लेख गरे ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनका अनुसार, हालसम्म (पुस १७ गतेयता) १६० जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । पछिल्लो सात दिनमा ३० र २४ घण्टामा पाँचजनामा संक्रमण पुष्टि भएको उनले बताए ।

सबैभन्दा बढी वाग्मती प्रदेशमा १२९, सुदूरपश्चिममा १७, मधेसमा पाँच, कोसी, गण्डकी र लुम्बिनी प्रदेशमा समान तीन/तीनजनामा संक्रमण देखिएको छ ।

एन्टिजेन पठाइयो 
निर्देशक डा. झाले कोरोनाभाइरसको संक्रमण देखिएका ठाउँमा एन्टिजेन पठाइसकेको जानकारी दिए । उनका अनुसार, सीमानाकामा परीक्षणका निम्ति हालसम्म ६४० थान एन्टिजेन पठाइएको छ । उनले संक्रमणको जोखिमलाई ध्यान दिँदै थप एन्टिजेन खरिद गर्ने प्रक्रिया अगाडि बढाइएको बताए ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतलाका निर्देशक डा. युवानिधि बसौलाले फाट्टफुट बिरामी उपचारका निम्ति अस्पतालमा आउने गरेका बताए । “मौसममा आएको परिवर्तनसँगै रुघाखोकी, ज्वरोका बिरामी आउने गरेका छन्,” उनले भने ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले भारतमा संक्रमण देखिएका कारण नेपालमा पनि संक्रमित भेटिएका बताए । “भारतमा देखिएपछि नेपालमा पनि फाट्टफुट बिरामी देखिएका हुन्,” उनले भने, “मौसम परिवर्तनसँगै फ्लुका बिरामी देखिएका हुन् ।”

उनले कोरोनाभाइरसविरुद्धको खोप नलगाएका व्यक्ति, दीर्घरोगी र ज्येष्ठ नागरिक अझै पनि जोखिममा रहेका बताए । रासस

प्रकाशित मिति: बिहीबार, असार ५, २०८२  १४:४५
प्रतिक्रिया दिनुहोस्