site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
अब कांग्रेसले वडादेखि केन्द्रसम्म एक्लै चुनाव लड्नुपर्छ– शेखर कोइराला
फाइल तस्बिर

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अब जुनसुकै निर्वाचनमा नेपाली कांग्रेस एक्लै निर्वाचनमा जानुपर्ने बताएका छन् । प्रजातान्त्रिक विचार समाजले आज आयोजना गरेको कार्यक्रममा नेता कोइरालाले विगतमा गठबन्धन गरेर कमजोरी गर्दा कांग्रेस अप्ठ्यारोमा परेको बताए । अब वडादेखि केन्द्रसम्म कांग्रेस एक्लै चुनाव लड्नुपर्ने उनको धारणा छ । 
 
“हामीले गल्ती गरिसक्यौं । कांग्रेसले गठबन्धनमा चुनाव लड्नै हुँदैनथियो,” कोइरालाले भने, “अब हामीले वडादेखि केन्द्रसम्मको चुनाव एक्लै लड्नुपर्छ । त्यसका लागि समाजका बुद्धिजीविहरुले विचार निर्माणमा सहयोग गर्नुपर्छ । कांग्रेसका साथीले अहिलेदेखि नै यसका लागि तयारी थाल्नुहोस् ।” 

कोइरालाले राजनीतिमा विकृत अभ्यास बढ्नुमा मिश्रित निर्वाचन प्रणाली पनि कारण भएको बताए । “हामीले मिश्रित निर्वाचन प्रणाली अवलम्बन गरेका छौँ । यो प्रणालीबाट कसैको पनि बहुमत आउँदैन । विगतका दुई चुनावले राजनीति कति विकृत  हुन्छ भनेर देखाइसकेका छन्,” कोइरालले भने, “समानुपातिक प्रणालीका पनि राम्रा पक्ष छन् । त्यसलाई राष्ट्रियसभाका लागि राखेर हुन्छ वा अन्य ढंगले व्यवस्था गर्नुपर्छ । प्रत्यक्ष निर्वाचित हुने प्रणाली नै अघि बढाउनुपर्छ ।” 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

डा. कोइरालाले प्रत्यक्ष निर्वाचन पनि अनावश्यक खर्चिलो भएर धान्नै नसक्ने र लोकतन्त्रको लाभ जनताले नपाउने अवस्था निम्त्याएको भन्दै खर्च कटौति गर्ने विषयमा पनि बहस सुरु हुनुपर्ने बताए । “प्रत्यक्ष निर्वाचन प्रणाली अत्यन्तै खर्चिलो भइसक्यो । त्यो खर्चिलो हुन नदिन कसरी काम गर्न सकिन्छ त्यतातिर पनि ध्यान पुर्याउनु पर्छ । छलफलबाट निष्कर्ष निकाल्नु पर्ने भएको छ,” कोइरालाले भने, “अहिलेको राजनीतिक अवस्थाका कारण जनताको विश्वास हामीले गुमाएका छौँ ।” 

उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा कसैलाई नछोडी कारबाही गरे जनविश्वास पलाउने भन्दै त्यसपछि भ्रष्टाचारविरुद्ध काम गर्नुपर्ने बताए ।

प्रकाशित मिति: बुधबार, जेठ ३, २०८०  १३:३७
प्रतिक्रिया दिनुहोस्