site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानन्यायाधीश सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चबाट दरपीठ

काठमाडौं । संवैधानिक परिषद्सम्बन्धी ऐनबिना नै प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरिएको भन्दै उक्त सिफारिस खारेज गर्न माग गर्दै पेस भएको रिट सर्वोच्च अदालतबाट दरपीठ भएको छ ।

वैशाख २५ गते संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई नियुक्त गर्न सिफारिस गरेको थियो । परिषद्को उक्त निर्णयविरुद्ध जेठ ७ गते नै सर्वोच्चमा वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठले रिट पेस गरेका थिए । उक्त रिट १० दिनसम्म पनि न दर्ता भएको थियो, न त दरपीठ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यसरी सर्वोच्चमा रिट पेस भएको १० दिनसम्म पनि कुनै निर्णय नभएको भन्दै रिट निवेदकले बुधबार दिउँसोका लागि पत्रकार सम्मेलन आह्वान समेत गरेका थिए । तर, सर्वोच्च प्रशासनबाट बुधबार बिहानै उक्त रिट दरपीठ भएको छ ।

"नेपालको संविधानको धारा २८४ मा भएको संवैधानिक प्रावधान क्रियाशील नै रहेको, धारा २९२ बमोजिमको संसदीय समिति समेत गठन भइसकेको" भन्दै रिट दर्ता गराउनु नपर्ने बताइएको छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्दै संवैधानिक नियुक्ति गरेका थिए । उक्त अध्यादेश संसद् सुचारु भएको ६ महिनासम्म पनि पारित नभएर स्वत: खारेज भएको थियो ।

उक्त अध्यादेशपछि संवैधानिक परिषद्सम्बन्धी ऐन संशोधन नभएको हुनाले रिक्तता रहेको भन्दै रिट निवेदकले उक्त रिट दर्ता गराएका थिए ।

प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  ११:५६
प्रतिक्रिया दिनुहोस्