site stats
बाह्रखरी :: Baahrakhari
देश
मेलम्चीको वैकल्पिक प्रणालीको ‘गेट’ मर्मत
फाइल तस्बिर ।

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाले अम्बाथानस्थित आयोजनास्थलको वैकल्पिक प्रणालीको ‘गेट’ मर्मत गरेको छ ।

मेलम्ची नदीमा पानीको बहाव बढी हुँदा र धमिलो हुँदा पनि काठमाडौं उपत्यकामा पानी नियमित ल्याउनका लागि ‘गेट’ मर्मत गरिएको मेलम्ची खानपानी विकास समितिले जनाएको छ ।

प्रणालीअन्तर्गत गेट नम्बर–१ ले पानी सुरुङभित्र पठाउने, गेट नम्बर–९ ले फल्स गर्ने समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जानकारी दिए । उनले भने, “गेट नम्बर–९ ले गर्दा धमिलो पानी सुरुङभित्र पस्न पाउँदैन ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

आयोजनाअन्तर्गत वैकल्पिक प्रणालीअन्तर्गतका गेट मर्मतका लागि १० दिनसम्म बन्द गरिएको थियो । पानी पथान्तरणको काम ‘हेडवर्क्स’ले गर्ने भए पनि सम्पन्न नहुँदै क्षतिग्रस्त भएकाले वैकल्पिक प्रणलीमार्फत पथान्तरण भइरहेको छ ।

गएको मंगलबारदेखि उपत्यकामा पानी पुनः ल्याउन थालिएको थियो । गेटको मर्मतका लागि बन्द गरिएको र एकैपटक धेरै परिमाणमा पठाउन नहुने भएकाले विस्तारै बढाउँदै लगिएको समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताए ।

उनले भने, “सुरुमा एकतिहाइ र त्यसपछि दुईतिहाइ गर्दै पूरा क्षमतामा पानी ल्याउने गरी मिलाइएको छ ।”

उपत्यकामा पहिलोपटक मेलम्चीको पानी वि.सं. २०७७ चैतमा ल्याइएको थियो । पहिलोपटक पानी ल्याइएको केही महिनामा नै असारमा लेदोसहित आएको बाढीका कारण त्यहाँको संरचनामा क्षति पुगेको थियो । त्यो अहिलेसम्म पनि पुनर्निर्माण भइसकेको छैन ।

गत दुई वर्ष पनि हिउँदमा मात्र उपत्यकामा पानी ल्याइएको थियो । पानी पथान्तरणका लागि निर्माण गरिएको संरचना हेडवर्क्सको क्षति भएपछि अहिले अस्थायी रूपमा पानी पथान्तरण गरेर ल्याइएको छ ।

वर्षाको समयमा बाढी आउन सक्ने र यसले गर्दा सुरुङभित्र बाढी पस्ने जोखिम भएकाले गत वर्षहरूमा वर्षामा सुरुङ बन्द गरिएको थियो । यो वर्ष गेटको मर्मत गरेर सम्भव भएसम्म वर्षामा पनि पानी चलाउने समितिको योजना रहेको छ ।

उपत्यकामा मेलम्चीका कारण हिउँदमा पानीको अभाव कम भएको छ । उपत्यकाका भित्री भागमा पहिले पानीको बढी समस्या रहेकामा अहिले भित्री भागमा नियमित पानी वितरण भइरहेको छ । चक्रपथबाहिरका धेरै ठाउँमा भने वितरणका लागि पाइप बिछ्याउने काम भइरहेको छ । रासस

प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  ०९:४०
प्रतिक्रिया दिनुहोस्