
धनुषा । धनुषामा बाली जोगाउन खेतमा जडान गरिएको विद्युतीय तारमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मिथिला नगरपालिका–१, ढल्केबरका ५० वर्षीया मंगलीदेवी महतोको मृत्यु भएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।
मंगलीदेवीले तरकारी बारीमा काम गर्ने क्रममा खेतमा जडित तारमा छोइँदा घटनास्थलमा उनको मृत्यु भएको कार्यालयका प्रहरी निरीक्षक जटाशंकर यादवले बताए । “केही किसानले जंगली जनावरबाट तरकारी तथा अन्य बाली बचाउन विद्युतीय तार तानेर करेन्ट प्रवाह गरी बाली सुरक्षा गर्दै आएका छन् । मंगलीदेवीले पनि सोही तार छोएपछि करेन्ट लागेको हो,” उनले भने ।
महिलाको शव पोस्टमार्टमका निम्ति प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको छ । घटना सम्बनधमा थप अनुसन्धान भइरहेको धनुषा प्रहरी प्रवक्ता वरुण सिंहले बताए । रासस