site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्रीले राष्ट्रियसभामा भने– भारत भ्रमणका उपलब्धीमा आँखा चिम्लेर बस्नेहरूकाे कुनै उपचार छैन 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमण उपलब्धीपूर्ण भएको भन्दै आँखा चिम्लेर केही पनि भएन भन्नेहरूका लागि उपचार नभएको बताएका छन् । संघीय संसद्को राष्ट्रियसभामा भारत भ्रमणका विषयमा जानकारी गराउने क्रममा प्रधानमन्त्री प्रचण्डले थुप्रै उपलब्धी भएको दाबी गरे । 

“भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रेसको अगाडि उभिएर १० हजार मेघावाटा विद्युत् खरिद गर्ने समझदारी भयो भन्नुभयो । त्यसलाई केही पनि गरिनस् भन्ने र भोलिका दिनमा काम गर्न निरुत्साहित गर्ने काम नगरौँ,” प्रधानमन्त्री प्रचण्डले भने, “पत्रकार सम्मेलनमा मैलेभन्दा अघि नै मोदीजीले सीमा समस्या समाधान गरिन्छ । दुई देशको सम्बन्ध हिमालयको उचाइमा पुर्याउने हो भन्नुभएको छ । सायद नेपाल भारत सम्बन्धमा भारतीय शक्तिशाली प्रधानमन्त्रीले यसरी भनेको पहिलो पटक हो ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले भएको उपलब्धीलाई नजअन्दाज गर्नेहरूलाई अर्को कुनै जवाफ नभएको बताए । “यतिका उपलब्धी हुँदाहुँदै पनि केही पनि भएन भन्नेहरूका लागि कुनै औषधि छैन,” प्रधानमन्त्री प्रचण्डले भने । उनले भारतीय संसद् भवनमा ग्रेटर भारत भन्दै राखिएको नक्साका विषयमा पनि कुरा भएको भन्दै भारतीय पक्षले त्यो राजनीतिकभन्दा पनि ऐतिहासिक र सांस्कृतिक नक्सा भएको भनेर टारेको बताए । 

प्रधानमन्त्री प्रचण्डले ‘लक्ष्मणपुर बाँध’ क्षेत्रसहित अन्य डुवान क्षेत्रका समस्या समाधान गर्ने विषयमा पनि कुरा भएको जानकारी दिए । “जहाँजहाँ बाँध बाँधेर समस्या भएको छ । वर्षाअघि नै दुवैतर्फका अधिकारीले समस्या समाधान गर्न निर्देशन भएको छ,” प्रधानमन्त्री प्रचण्डले भने । 

उनले अन्तर्राष्ट्रिय हवाइ रुटमा भने सहमति हुन नसकेको बताए । “हामी अन्तर्राष्ट्रिय एयर रुट चाहन्थ्यौं । हाम्रो नागरिक उड्डयन प्राधिकरणबाट कर्मचारी पठाइएको पनि थियो । छलफलपछि नेपालगन्जबाट एयर रुट लो अल्टिच्युड दिने तर, हाइअल्टिच्युडमा अझै सहमतिका लागि तयारी गर्ने भन्ने जवाफ पहिले नै आएको थियो,” प्रधानमन्त्रीले भने, “तर, हामीले कम्तिमा पनि एउटा अन्तर्राष्ट्रिय एयर रुट दिनुपर्छ भन्यौं । त्यसमा सकारात्मक जवाफ मात्र पाइयो । लोअल्टिच्युट पनि उपलब्धी नै हो । केही होइन भनेर बन्ने कुरा पनि विग्रनेगरी नबोलौं ।”

प्रधानमन्त्री प्रचण्डले सीमासमस्या समाधानका विषय लिम्पियाधुरा लिपुलेकमै केन्द्रित भएर अन्य क्षेत्रका समस्यामा पनि छलफल भएको बताए । उनले वान टु वान तहमा सकारात्मक कुरा अघि बढेको उनले जानकारी दिए । 
 

प्रकाशित मिति: बुधबार, जेठ २४, २०८०  १३:०३
प्रतिक्रिया दिनुहोस्