
काठमाडौं । राष्ट्रियसभामा नेकपा (एमाले) संसदीय दलकी नेता भगवती न्यौपानेले इजरायल र इरानमा रहेका नेपालीहरूको सुरक्षामा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएकी छन् । बिहीबार बसेको राष्ट्रियसभा बैठकमा बोल्दै उनले सरकारको ध्यानाकर्षण गराएकी हुन् ।
उनले इजरायल र इरानबीच द्वन्द्व चलिरहेको बताउँदै इजरायलमा लगभग सात हजार र इरानमा एक दर्जन नेपालीहरू रहेको तथ्यांक सार्वजनिक भएको उल्लेख गरिन् । सरकारले नेपालीहरूको सुरक्षाको निम्ति ध्यान दिने विषयमा पहलकदमी र चासो देखाएको बताउँदै श्रम मन्त्रालयको आयोजनामा सरोकारवाला मन्त्रालयका प्रतिनिधिहरूलाई राखेर बैठक समेत बसेको बताउनुभयो ।
इजरायलको तेलअभिभस्थित नेपाली दूतावासले नेपालीहरूको विवरण संकलन गरिरहेको बताउँदै फर्किन चाहने नेपालीलाई फर्काउने र त्यहीँ रहनेहरूको सुरक्षाको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइन् ।
उनले भनिन्, "नेपाल सरकारले नेपालीहरूको सुरक्षामा ध्यान देओस् । आउन चाहने नेपालीहरूलाई ल्याउने व्यवस्था गरियोस्, त्यहाँ रहनेहरूको लागि सुरक्षाको व्यवस्था होस् भन्ने कुरामा म जोड दिन चाहन्छु ।”
उनले मानव स्वास्थ्यलाई ध्यान नदिई मानव पुँजीमा विकास गर्न नसकिने भन्दै नागरिकको स्वास्थ्यलाई प्रमुख प्राथमिकतामा राख्न सरकारलाई ध्यानाकर्षण गराइन् । न्युज एजेन्सी नेपाल