site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
पहिचानवादी र कोसी सरकारबीच घनीभूत छलफल गर्ने सहमति

विराटनगर । कोसी प्रदेश सरकार र पहिचानवादीबीच सोमबार प्रदेश राजधानी विराटनगरमा वार्ता भएको छ । कोसी प्रदेश नामकरण खारेजीको माग गर्दै आएको प्रदेश नम्बर–१ पुनः नामांकन समिति र प्रदेश सरकारको टोलीबीच विराटनगरस्थित बिग होटेलमा छलफल भएको हो ।

पहिलो वार्तामा आन्दोलनरत पक्षका मागबारे छलफल गरिएको थियो । सरकारी वार्ता टोलीका संयोजक एवं कोसी सरकारका खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री तिलकुमार मेन्याङबोले फेरि छलफल गर्ने सहमति गरिएको जानकारी दिए ।

उनले भने, “विषय र माग उठान भएका छन् । फेरि घनीभूत छलफल गर्ने गरी पुनः वार्तामा बस्छौँ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

आन्दोलनरत पक्षका वार्ता टोली सदस्य रामभक्त कुरुङवाले सरकारसँग औपचारिक रूपमा छलफल सुरु हुनु सकारात्मक भएको बताए । “हामीले उठाएको मागका विषयमा वार्ताको माध्यमबाट औपचारिक ढंगले राख्ने काम भएको छ । फेरि यसलाई निरन्तरता दिइनेछ,” उनले भने ।

गएको फागुन १७ गते प्रदेशसभाबाट कोसी प्रदेश नाम पारित गरिएसँगै पहिचानवादी दल तथा संगठनले मोर्चा बनाएर सरकारविरुद्ध आन्दोलन गरिरहेका छन् । प्रदेश राजधानीकेन्द्रित आन्दोलन गरिँदा झडपका क्रममा एक प्रदर्शनकारीको मृत्यु समेत भएको थियो ।

संघर्ष बढ्दै जाँदा आन्दोलनरत पक्षले कोसी प्रदेश लेखिएका बोर्ड हटाउनेदेखि प्रदेशसभा सदस्यलाई जिल्ला प्रवेशमा समेत अवरोध गर्दै आएको छ । सरकारले आन्दोलनरत पक्षलाई औपचारिक रूपमै पत्राचार गरेपछि वार्ता भएको हो ।

मन्त्री मेन्याङबोले भने, “यो छलफलको प्रारम्भ हो । अब अझ गहन रूपमा अघि बढ्छौँ ।”

उनले दुवै पक्षबीच सहमति गरी वार्ताको अर्को मिति तय गरिने जानकारी दिए ।

कोसी प्रदेशको नाम पहिचानका आधारमा राख्न यसको पुनः नामांकन गरिनुपर्ने पहिचानवादीले माग गर्दै आएका छन् ।

प्रकाशित मिति: सोमबार, असार ४, २०८०  १४:१८
प्रतिक्रिया दिनुहोस्