
काठमाडौं । प्रतिपक्ष दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदले बिहीबार (असार ५) पनि प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन् ।
राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले बैठक बहिष्कार गर्ने बताएका थिए । कार्यसूची अघि बढाइएपछि उनीहरू बैठकबाट बाहिरिए ।
अर्को प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले भने वेल घेराउलाई निरन्तरता दिए । बैठक सुरु हुनेबित्तिकै उनीहरूले सभामुख देवराज घिमिरेको आसनअगाडि पुगेर नाराबाजी गरेका थिए । त्यसपछि त्यहीँ भुइँमा पलेँटी कसेर बसेका छन् । बैठक जारी छ ।
रास्वपा सांसदले भिजिट भिसा प्रकरणमा छानबिन आयोग र गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै बैठकमा विरोध गरिरहेका छन् । रास्वपा सांसद हरि ढकालले आफ्ना माग पूरा नभएसम्म आन्दोलन (विरोध) जारी रहने बताए ।