site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सिम्रौनगढलाई संरक्षित क्षेत्र घोषणा गर्न माग
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)का सांसद अच्युतप्रसाद मैनालीले बारास्थित ऐतिहासिक, पुरातात्त्विक तथा सांस्कृतिक नगरी सिम्रौनगढलाई संरक्षित क्षेत्र घोषणा गर्न सरकारसँग माग गरेका छन् ।

सो क्षेत्रमा एक हजार वर्ष पुराना श्रीकृष्णको मन्दिर, स्वामी नारायणको मन्दिरजस्ता पुरातात्त्विक महत्त्वको सम्पदा फेलापरेका उनले उल्लेख गरे । सो क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गर्न र विश्वसम्पदा सूचीमा सूचीकृत गर्न उपयुक्त हुने उनको भनाइ छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बुधबार प्रतिनिधिसभाको दोस्रो बैठकको शून्य समयमा सांसद मैनालीले सो क्षेत्रलाई प्राचीन स्मारक संरक्षण ऐनअनुसार संरक्षित क्षेत्र घोषणा गर्न सकिनेतर्फ पनि सरकारलाई सचेत गराए ।

“बारा जिल्लाको सिम्रौनगढ ऐतिहासिक, पुरातात्त्विक र सांस्कृतिक नगरी हो । अहिले विगत ६ वर्षको अन्तरालमा त्यहाँ पोखरी खन्ने क्रममा विभिन्न स्थानहरूमा श्रीकृष्णको मन्दिर, स्वामी नारायणको मन्दिर, एक हजार वर्षभन्दा पुराना पुरातात्त्विक सम्पदाहरू फेला परिराखेको छ,” उनले भने, “तसर्थ, म सरकारसँग प्राचीन स्मारक संरक्षण ऐनअन्तर्गत त्यसलाई संरक्षित क्षेत्र घोषणा गरियोस् । र, विश्वसम्पदा सूचीमा समावेश गरियोस् भनेर जोडदार माग गर्न चाहन्छु ।”

सो क्षेत्रलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्नका लागि सरकारले पहलकदमी लिने काममा ढिलाइ गर्न नहुनेमा उनले जोड दिए ।

प्रकाशित मिति: बुधबार, असार ६, २०८०  १२:४०
प्रतिक्रिया दिनुहोस्