site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सहकारीपीडित २० दिनदेखि आन्दोलनमा

काठमाडौं । सहकारीले पैसा हिनामिना गरेर भागेको भन्दै बचतकर्ता आन्दोलनमा उत्रिएको २० दिन भएको छ । जेठ २० गतेदेखि आन्दोलनमा उत्रिएका बचतकर्ताको सरकारले बेवास्ता गरेको छ । उनीहरू माइतीघरमा दिनरात बस्ने गरेका छन् । तर, यी बचतकर्ताको मागलाई सरकारले अहिलेसम्म सम्बोधन गरेको छैन ।

सहकारीपीडित बचतकर्ता महासंघका प्रवक्ता पुरूषोतम कार्कीले सरकारको कमजोरीले गर्दा लाखौँ बचतकर्ता समस्यामा परेको बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“ओरेन्टियल सहकारीका सञ्चालक सुधीर बस्नेतलाई राजनीतिक संरक्षण नगरेको भए बचतकर्ताको बचत फिर्ता सहज रूपमा हुने थियो,” उनले भने, “एकजनालाई छोड्दा अरू सञ्चालकलाई बचतकर्ता ठग्न आत्मविश्वास बढ्यो । राज्य संरक्षित अपराध भयो । हामीलाई न्याय भएन ।”

उनले सरकारले बचतबाट कर काट्ने तर त्यसको संरक्षण नगरिदिँदा लाखौँ बचतकर्ता घरको न घाटको भएको बताए । वर्षाको समय भएकाले आन्दोलनमा आएका कतिपय मच्छरले टोकेर बिरामी हुने गरेको पनि कार्कीले बताए ।

जथाभावी लगानी गर्ने सहकारीलाई सरकारले कारबाही गर्नुपर्ने, ठूला सहकारीलाई राष्ट्र बैंकले नियमन गर्नुपर्ने, सञ्चालक र आफन्तको सम्पत्ति छानबिन गर्नुपर्ने र बचत फिर्ता नगर्ने सञ्चालकलाई कारबाही गर्नुपर्ने जस्ता माग बचतकर्ताका छन् ।

आर्थिक सर्वेक्षेण २०७९÷८० अनुसार हाल नेपालमा ३१ हजार ३७३ सहकारी संस्था छन् । यी सहकारीमा ७३ लाख ८१ हजार २१८ सदस्य रहेका छन् । सहकारी संस्थामा हालसम्म ९४ अर्ब १५ करोड रुपैयाँ सेयरपुँजी रहेको छ भने चार खर्ब ७८ अर्ब तीन करोड बचत परिचालन भएको छ ।

त्यस्तै, चार खर्ब २६ अर्ब ३५ करोड रुपैयाँ ऋण लगानी भएको छ । सहकारी क्षेत्रमा ९३ हजार ७७१ जनाले प्रत्येक्ष रोजगारी प्राप्त गरेको पनि सर्वेक्षणमा उल्लेख छ ।

प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  १२:४२
प्रतिक्रिया दिनुहोस्