site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नेपाल समाजवादी पार्टीको संगठन विस्तार अभियान आजदेखि

काठमाडौं। नेपाल समाजवादी पार्टी (नेसपा)ले आजबाट संगठन निर्माण तथा विस्तार अभियान सञ्चालन गरेको छ ।

'अबको राष्ट्रको संकल्प, समाजवादी विकल्प' भन्ने नारासहित पुससम्म चल्ने अभियानको नेसपाका केन्द्रीय पदाधिकारीहरूले सातै प्रदेशमा वृक्षरोपण गरी उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अभियानको कोसी प्रदेशमा उपाध्यक्ष हिसिला यमी, मधेस प्रदेशमा अध्यक्ष महिन्द्र राय यादव, वाग्मतीमा सहअध्यक्ष गंगानारायण श्रेष्ठ, गण्डकीमा अध्यक्ष डा. बाबुराम भट्टराई, लुम्बिनीमा सहअध्यक्ष गोविन्द चौधरी, कर्णालीमा भक्तबहादुर शाह र सुदूरपश्चिममा उपाध्यक्ष दुर्गा सोबको नेतृत्वमा अभियान सञ्चालन हुनेछ ।

पार्टी अध्यक्ष डा. भट्टराईले गोरखाको पालुङटार नगरपालिका–१ खोप्लाङ ज्योती चौतारामा विभिन्न प्रजातिका वृक्षरोपण गरेर अभियानको सुरुवात गर्नेछन् ।

त्यस्तै कोसी प्रदेशमा आत्मनिर्भर अर्थतन्त्रको नारासहित मोरङ र सुनसरी जिल्लामा २०० थान फलफूलको वृक्षरोपण गरेर अभियानको शुभारम्भ हुने प्रदेश इन्चार्ज भरत दाहालले जानकारी दिए । मधेस प्रदेशमा फूलको विरुवा रोपेर अभियान सन्चालन गर्ने नेसपा नेता प्रमोद यादवले जानकारी दिए ।

वागमती प्रदेशका १३ जिल्लामा प्रत्येक जिल्लामा एकहजार फलफूलसहित बिभिन्न प्रजातीका बोटबिरुवा रोपेर अभियानको शुभारम्भ हुने प्रदेश अध्यक्ष बन्दना सुवेदीले जानकारी दिइन् । त्यसैगरी सुदूरपश्चिम प्रदेशका कैलाली जिल्लाको टिकापुर, भजनी र कैलालीमा व्यापकरूपमा वृक्षरोपण गरेर अभियानको शुभारम्भ हुने इन्चार्ज जनक शाहले जानकारी दिए । प्रदेशका कन्चनपुर, बैतडी, डडेलधुरा, अछाम, बाजुरा, बझाङका विभिन्न स्थानमा समेत वृक्षरोपण गरी अभियानको शुभारम्भ हुने शाहले जानकारी दिए ।

प्रत्येक जिल्लामा विभिन्न प्रजातिका एक हजार भन्दा बढी वृक्षरोपण गरिने लक्ष्य लिइएको नेसपाले जनाएको छ । अभियान सातै प्रदेशका सबै जिल्ला तथा केही आवश्यकताअनुसार पालिका तहमा समेत सञ्चालन गरिने कार्यक्रम रहेको नेसपाले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  ०८:२०
प्रतिक्रिया दिनुहोस्