site stats
बाह्रखरी :: Baahrakhari
देश
अख्तियारले एक वर्षमा दायर गर्‍यो १६२ मुद्दा, एक अर्ब ७७ करोड बिगो दाबी

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो एक वर्षमा विशेष अदालत काठमाडौंमा १६२ वटा भ्रष्टाचार मुद्दा दायर गरेको छ । गत आर्थिक वर्ष २०७९/८० मा अख्तियारले ती मुद्दा दायर गरेको हो ।

दायर गरिएका मुद्दामा ७६० जनालाई प्रतिवादी बनाइएको अख्तियारले जनाएको छ । अख्तियारले सार्वजनिक गरेको तथ्याङ्कअनुसार दायर गरिएका मुद्दामा गैरकानुनी लाभहानीसँग सम्बन्धित ६४, घुससँग सम्बन्धित ३२, सार्वजनिक सम्पत्तिको हानि नोक्सानीसँग सम्बन्धित २७ र गैरकानुनी सम्पत्ति आर्जनसँग सम्बन्धित १३ वटा रहेका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यस्तै, नक्कली शैक्षिक प्रमाणपत्रसँग सम्बन्धित आठ, राजस्व हिनामिनासँग सम्बन्धित सात र अन्य विविध विषयसँग सम्बन्धित ११ मुद्दा पनि दायर गरिएको छ ।

गैरकानुनी लाभहानी मुद्दामा ४४२, घुस मुद्दामा ४६, सार्वजनिक सम्पत्तिको हानि नोक्सानी मुद्दामा १५०, गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा २९, नक्कली शैक्षिक प्रमाणपत्र मुद्दामा आठ, राजस्व हिनामिना मुद्दामा ४६ र अन्य विधिध मुद्दामा ३९ जनालाई प्रतिवादी बनाइएको अख्तियारले जनाएको छ ।

प्रतिवादीमध्ये एकजना विशिष्ट श्रेणीका कर्मचारी, ३५५ जना अन्य कर्मचारी, १७८ जना बिचौलिया/मतियार र २२६ जना निर्वाचित तथा मनोनीत पदाधिकारीहरु रहेका छन् ।

"प्रतिवादीहरुबाट एक अर्ब ७७ करोड ५८ लाख ४६ हजार ४३७ रुपैयाँ बिगो माग दाबी गरिएको छ," अन्तियारका प्रवक्ता भोला दाहालले बताए ।

आर्थिक वर्ष २०७९/८० मा विशेष अदालतबाट ३४१ वटा फैसला प्राप्त भएकोमा आंशिक ठहर र सफाइ पाएका मुद्दामध्ये २३७ वटा मुद्दामा अख्तियारले पुनरावेदन गरेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा अख्तियारले भ्रष्टाचारसम्बन्धी १३१ वटा मुद्दा विशेष अदालतमा दर्ता गरेको थियो ।

प्रकाशित मिति: मंगलबार, साउन २, २०८०  १३:४१
प्रतिक्रिया दिनुहोस्