site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
विमानस्थलबाट सुन तस्करी प्रकरण : छानबिन समितिले पाँच दिनभित्र प्रतिवेदन बुझाउने 

काठमाडौं । अवैध रूपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट सुन बाहिरिएको सम्बन्धमा छानबिन गर्न गठित भन्सार विभागको समितिले पाँच दिनभित्र प्रतिवेदन बुझाउने भएको छ ।

बिहीबार बिहान विभागका अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरिएको हो । “छानबिन समितिलाई पाँच दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ,” भन्सार विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काले बाह्रखरीसँग भने, ‘प्रतिवेदनमा आधारमा कारबाही अघि बढाइनेछ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

छानबिन समितिले आजैदेखि काम सुरु गरिसकेको उनले बताए । समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित कार्गो गोदामबाट बुधबार करिब १०० किलो सुन कसरी बाहिरियो भन्ने सम्बन्धमा छानबिन गर्नेछ ।

“समितिले कार्गो गोदामबाट सुन बाहिरिएको समयमा भन्सार प्रक्रियामा को–को सहभागी थिए, उनीहरूले प्रक्रिया पूरा गरे कि गरेनन्, अन्य व्यक्तिको संलग्नता छ वा छैन, कसरी सुन बाहिरियो भन्नेलगायत सम्बन्धमा छानबिन गर्नेछ,” खड्काले भने ।

समितिले भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेललाई प्रतिवेदन बुझाउनेछ । त्यसपछि दोषी देखिएकालाई कारबाही प्रक्रिया अघि बढाइने उनले बताए ।

राजस्व अनुसन्धान विभागको टोलीले सो सुन बरामद गरेको थियो । विमानस्थलको भन्सार जाँचपास भएर ट्याक्सीमा लैजान लागिएको अवस्थामा सुन बरामद गरिएको थियो । सो प्रकरणमा हालसम्म ६ जना पक्राउ परेका छन् ।

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  १२:४२
प्रतिक्रिया दिनुहोस्