site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
चन्द्रमामा कति मानिस पुगेका छन् ?

काठमाडौं । अमेरिकी अन्तरिक्ष एजेन्सी नेसनल एरोनटिक्स एन्ड स्पेस एडमिनिस्ट्रेसन (नासा)ले यसै दशकभित्र चन्द्रमामा फेरि मान्छे पठाउने लक्ष्य राखेको छ । सन् १९६९ को जुलाई २० मा पहिलोपटक मानवले चन्द्रमामा पाइला टेकेको थियो ।

नासाले सन् २०१७ मा सुरु गरेको आर्टेमिस मिसनको तेस्रो आर्टेमिस–३ मिसनअन्तर्गत चन्द्रमामा मान्छे पठाउने लक्ष्य राखेको हो । यो मिसन सन् २०२५ मा सुरु हुनेछ ।

चीनले पनि सन् २०३० भन्दा पहिले चन्द्रमामा मान्छे पुर्‍याउने लक्ष्य राखेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पछिल्ला दशकमा चन्द्रमाको अन्वेषणसम्बन्धीका महत्वपूर्ण मिसन नहुँदा चन्द्रमामा कति मानिस पुगे र कति मिसन पुगे भन्नेबारे सबैलाई जानकारी नहुन पनि सक्छ ।

यसको जवाफ हो, ९ अपोलो मिसन अन्तर्गत २४ अन्तरिक्षयात्री चन्द्रमामा पुगेका छन् । र, तीमध्ये १२ जना चन्द्रमाको सतहमा हिँडेका छन् ।

सन् १९६१ मा सोभियत संघले पहिलोपटक अन्तरिक्षमा मानिस पुर्‍याएको थियो । अन्तरिक्षमा पुग्ने पहिलो मानिस सोभियत संघका अन्तरिक्षयात्री युरी गागरिन थिए ।

सोभियत संघविरुद्ध प्रतिस्पर्धामा रहेको संयुक्त राज्य अमेरिकाका ३५औँ अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले सोही दशकको अन्त्यमा चन्द्रमामा पहिलो मानिस पठाउने घोषणा गरेका थिए ।

सोभियतले अन्तरिक्षमा मानिस पठाएपछि नासाले सन् १९६१ देखि ०६३ सम्म एक अन्तरिक्षयात्रु राखेर ६ वटा मर्करी मिसनमार्फत अन्तरिक्षमा मान्छे पठाएर परीक्षण गरेको थियो ।

त्यसपछि नासाले दुई यात्रुविहीन र १० दुई अन्तरिक्षयात्री सहितको जेमिनाइ मिसन सञ्चालन गरी चन्द्रमामा अवतरणसम्बन्धी र अन्तरिक्षमा मानिसको स्थितिबारे खोज अध्ययन गरेको थियो ।

सन् १९६६ देखि ०७२ सम्म नासाले अपोलो मिसिन सञ्चालन गरेको थियो । चरणवद्ध मानवरहित मिसनपछि सन् १९६८ मा अपोलो ७ नासाको पहिलो मानवसहितको मिसन थियो ।

चन्द्रमासम्म मान्छे पुर्‍याउन उपकरणहरुको क्षमता परीक्षणका लागि आपोलो ७ मिसनअन्तर्गत तीन अन्तरिक्षयात्रीले ११ दिनसम्म १६३ पटक पृथ्वीको परिक्रमा गरेका थिए ।

सन् १९६८ को डिसेम्बर २१ देखि २८ को अवधिमा अपोलो ८ मिसन चन्द्रमाको परिक्रमा गरी पृथ्वीमा सफलरुपमा फिर्ता आएको थियो । यो मिसनका विलियम एन्डर्स, फ्रान्क बोरम्यान र जिम लभेल चन्द्रमामा जाने पहिलो तीन व्यक्ति थिए । तर, चन्द्रमा अवतरण भने गरेका थिएनन् ।

त्यसपछि सन् १९६९ को मे १८ देखि २६ को अवधिमा अपोलो १० मिसनअन्तर्गत थोमस स्टाफोर्ड, जोन डब्ल्यू यंग र यूजीन सेर्नान चन्द्रमा अवतरण गर्ने मिसनका लागि ड्रेस रिहर्सलको रूपमा परिक्रमा गरेर फर्किएका थिए ।

अन्ततः अपोलो ११ मिसनअन्तर्गत निल आर्मस्ट्रङ चन्द्रमामा पाइला टेक्ने व्यक्ति बनेका थिए । त्यसलगत्तै बज एल्ड्रिन चन्द्रमामा पाइला टेक्ने दोस्रो व्यक्ति बनेका थिए । माइकल कोलिन्स भने चन्द्रमाको परिक्रमा गर्ने कमान्ड मोड्युल चलाइरहेका थिए । कोलिन्स चन्द्रमााम पुग्ने नवौँ व्यक्ति थिए ।

अपोलो ११ पछि अपोलोको अन्तिम मिसन सन् १९७२ को डिसेम्बर ७ देखि १९ सम्म चलेको अपोलो १७ मा गरी २४ अन्तरिक्षयात्री चन्द्रमामा पुगेका हुन् र तीमध्येका १२ जनाले चन्द्र धरातलमा पाइला टेकेका छन् ।

यी सबै अमेरिकी नागरिक हुन् र चन्द्रममा पाइला टेकेका अन्तरिक्षयात्री अपोलो ११ का एल्ड्रिन, अपोलो १५ का डेभिड स्कट, अपोलो १६ का चार्ल्स ड्यूक र अपोलो १७ का ह्यारिसन स्मिट जीवित छन् ।

प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  १७:१२
प्रतिक्रिया दिनुहोस्