site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कोसीमा सभामुखलाई राजीनामा गराउने तयारी 
बाबुराम गौतम । फाइल तस्बिर ।

विराटनगर । कोसी प्रदेशमा सरकार गठनका लागि दाबी पेस गर्न सभामुख बाबुराम गौतमलाई राजीनामा गराउने तयारी गरिएको छ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र)सहित गठबन्धनमा आबद्ध दलले यस्तो तयारी गरेका हुन् ।

कोसीमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न प्रदेश प्रमुख परशुराम खापुङले आज बेलुका ५ बजेसम्मको समयसीमा दिएका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रदेशसभामा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले साथ नदिए सभामुखलाई राजीनामा गराएर गठबन्धनले सरकारमा दाबी पेस गर्ने तयारी भइरहेको बताए ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक भूपेन्द्र राइले पनि सभामुखलाई राजीनामा गराउने विकल्प रहेको बताए ।

राप्रपालाई फकाउन गठबन्धनले गरेको प्रयास करिब असफल भएको छ । सोही कारण गठबन्धन सभामुखलाई राजीनामा गराउने तयारीमा लागेको हो ।

बहुमतका लागि ४७ सांसद संख्या आवश्यक पर्छ । सभामुखले राजीनामा दिँदा सो गठबन्धनको बहुमत पुग्छ । गठबन्धनमा कांग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) आबद्ध छन् । अहिले गठबन्धन दलसँग सभामुखबाहेक ४६ मत छ । नेकपा (एमाले)का ४० र राप्रपातर्फका ६ प्रदेशसभा सदस्य छन् ।

अघिल्लोपटक सभामुखसहितको हस्ताक्षरमा सरकार गठन गरिँदा सर्वोच्च अदालतले नियुक्ति बदर गरिदिएको थियो ।

प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  १०:२५
प्रतिक्रिया दिनुहोस्