site stats
बाह्रखरी :: Baahrakhari
देश
३४ जिल्लाका नदी तथा खोलामा आज बाढीको जोखिम
फाइल तस्बिर

काठमाडौं । पाँचवटा प्रदेशमा भारी वर्षाको सम्भावना रहेकाले आज बाढीको जोखिम रहेको छ । कोसी, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा आज भारी वर्षाको सम्भावना रहँदा ३४ जिल्लामा बाढीको जोखिम रहेको छ । 

इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, संखुवासभा, भोजपुर, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, भक्तपुरका नदीमा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नुवाकोट, रसुवा, गोरखा, लमजुङ, तनहुँ, कास्की, पर्वत, म्याग्दी, बाग्लुङ, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया भएर बहने नदी तथा खोलामा पनि जलस्तर बढ्ने पूर्वानुमान रहेको छ । 

कैलाली, कञ्चनपुर, जाजरकोट, दैलेख, डोटी, अछाम, दार्चुला र आसपास भई बहने केही स–साना नदी तथा खोलामा पनि बहाव बढ्नसक्ने पूर्वानुमान रहेको महाशाखाले जनाएको छ । 

आज देशका प्रमुख नदीहरूको बहाव सामान्य अवस्थामा रहने तर भोलिदेखि देशका अधिकांश नदीको जलस्तर उल्लेख्य बढ्ने पूर्वानुमान रहेको छ ।

आइतबार वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई, भेरी र महाकाली नदी र यसका सहायक नदीहरूमा जलसतह सतर्कता तह आसपास पुग्नसक्ने पूर्वानुमान रहेको महाशाखाको भनाइ छ । त्यस्तै मधेस, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश भएर बहने स–साना नदीहरूमा आकस्मिक बहावको जोखिम रहने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाको आग्रह छ । 


 

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  ०८:५८
प्रतिक्रिया दिनुहोस्