site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
आनन्द अरुणले भनेपछि धीरेन्द्रकृष्ण शास्त्रीलाई भेटेको हुँ : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बागेश्वर बाबा भनेर चिनिने भारतका विवादास्पद धर्मगुरु धीरेन्द्रकृष्ण शास्त्रीसँग भेटेको स्वीकार गरेका छन् ।

आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आह्वान गरेको शीर्ष नेताको बैठकपछि सञ्चारकर्मीले सोधेको प्रश्नमा मन्त्री श्रेष्ठले उनलाई भेटेको स्वीकार गरेका हु्न् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

आफूले शास्त्रीलाई नचिनेको भन्दै उनले ओशो धर्मगुरु आनन्द अरुणले भनेपछि उनीसित भेटवार्ता भएको प्रस्ट पारे ।

“स्वामी आनन्द अरुण मेरो मित्र पनि, उहाँले के भन्नुभयो भने– भारतबाट एउटा धर्मगुरु आउनुभएको छ, उहाँसँग भेट्नु राम्रो हुन्छ भन्नुभयो,” श्रेष्ठले भने, “उहाँले भन्नुभएपछि मैले गएर भेटेको हो, कुरा त्यत्ति हो ।”

त्यसरी भेट्न जानुमा उनले आफ्नो पूर्वीय दर्शन, योग, ध्यानमा झुकाव रहेको स्पष्टीकरण दिए ।

‘नेपाल भारतको अंग हो’ भन्ने शास्त्रीको विवादस्पद अभिव्यक्तिको पनि गृहमन्त्री श्रेष्ठले ‘पछि सच्याएको भन्ने सुनेको’ भनेर बचाउ गरे ।

“कुन प्रसंगमा कसरी अभिव्यक्ति आयो, मैले हेरेको छैन । नेपाल एउटा सर्वभौमसत्तासम्पन्न देश हो । यसको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनताको संरक्षण गर्न सरकार दृढ संकल्प गर्दछ,” गृहमन्त्री श्रेष्ठले भने, “त्यसैले कुनै व्यक्तिले केही भन्यो भने पनि त्यो कुरा हामीलाई स्वीकार्य हुन सक्दैन । दोस्रो कुरा, उहाँले के भनेको भनेर नसुनी, नबुझी प्रतिक्रिया दिनु हुँदैन ।”

उनले अगाडि थपे, “मैले सुनेअनुसार उहाँले पहिला भनिहाल्नुभयो र पछि करेक्सन गर्नुभा’थ्यो रे भन्ने सुन्या हो । जसले जे भने पनि यो देश कसैको अंग होइन, यो सार्वभौमसत्तासम्पन्न मुलुक हो ।”

प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  १६:१९
प्रतिक्रिया दिनुहोस्