site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
धार्मिक सद्भाव भड्काउने प्रयास भइरहेको छ, प्रधानमन्त्रीको अभिव्यक्ति ठिक भएन : डा. शेखर कोइराला 

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालमा धार्मिक सद्भाव भड्काउने प्रयास भइरहेको बताएका छन् । सद्भाव बिग्रिने अवस्था बनेको भन्दै उनले धार्मिक सद्भाव कायम राख्न आवश्यक भएको बताए । 

नेपाल प्रेस युनियन मोरङको पदस्थापन कार्यक्रममा शनिबार कोइरालाले  भने, “संविधानमा केही कुरा लेखिएका छन् धर्मबारे पनि । सद्भाव खल्बल्याउने काम स्वीकार्य हुँदैन ।” 

सञ्चारकर्मी नै कठिन अवस्थामा पुगेको उनको बताए ।‌ पत्रकारले समीक्षक बनेर नेतालाई सचेत गराउनु पर्ने कोइरालाले बताए । विज्ञापन अभावका कारण देशभरका मिडिया संकटमा रहेको उनको भनाइ छ । सामाजिक सञ्जालको दबाबमा मिडिया रहेको उनले बताए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“अब मिडिया कसरी परिवर्तन हुने भन्ने कुरा महत्वपूर्ण देखिएको छ,” उनले भने, “मिडियाकर्मी जहिले पनि स्वतन्त्र भएर काम गर्नुपर्छ । पत्रकारले समीक्षक बनेर नेतालाई सचेत गराउनु पर्छ ।” 

पत्रकारले नेता वा राजनीतिक समूहको पक्षपोषण गर्न नहुने उनको धारणा छ । “अहिले देशको राजनीति कता गएकोभन्दा पनि अफ्ठ्यारो परिस्थितिमा रहेकोमा चिन्ता लाग्छ । सामाजिक, राजनीतिक र आर्थिक अवस्था सकारात्मक देखिएको छैन,” उनले भने । 
 
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बहुमत दिए जातीय पहिचानको प्रदेश दिने भनेर बोल्नु कति उचित थियो भन्ने प्रश्न गर्दै कोइरालाले यसले अफ्ठ्यारो परिस्थिति आउने बताए । 

अमेरिकी अध्ययनले नेपालमा बाह्य लगानीको प्रशस्त सम्भावना देखाएको भन्दै उनले भने, “सरकार अस्थिर र बोझिलो कर्मचारीतन्त्रलगायत कारण लगानी गर्ने मानिस हतोत्साहित हुन्छन् ।” 

नेताहरुले बोलेको कुरामा विश्वास घट्दै गएको भन्दै कोइरालाले भ्रष्टाचारमा संलग्नलाई दण्डित नगरे विश्वास नबढ्ने बताए । सुनकाण्डको छिनोफानो जनताले बुझ्ने गरी हुनुपर्ने कोइरालाको भनाइ छ । 

विश्व तस्करहरुको अखडा बन्दै गएको र थप जोखिम रहेको सुनाउँदै उनले भने, “नेपाल अन्तर्राष्ट्रियस्तरको तस्करी अखडा बनेको छ । हङकङको विमानस्थबाट कसरी त्यत्रो सुन आयो ।” 

सरकार जसरी पनि बनाउन नहुने भन्दै उनले कोसी प्रदेशमा यस्तै प्रयास गर्दा कठिनाई आएको बताए ।  प्रधानमन्त्री प्रचण्डले अदालत ‘बढी एक्टिभ भयो’ भन्ने कुरा आफूसँग राख्दा संविधान र कानुनअनुसार काम गर्न सुझाव दिएको कोइरालाले स्मरण गरे ।
 

प्रकाशित मिति: शनिबार, भदौ ९, २०८०  ११:३९
प्रतिक्रिया दिनुहोस्