site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सुशासन र समृद्धिका लागि राष्ट्रिय सहमतिमा जोड दिएको छु : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकलाई सुशासन र समृद्धिको बाटोमा अगाडि बढाउन आफूले सदैव राष्ट्रिय सहमतिमा जोड दिएको बताएका छन् ।

मुलुकलाई स्थिरता, स्थायित्वको साथै समृद्धि र सुशासनको नयाँ यात्रामा लैजानुको विकल्प नरहेको उल्लेख गर्दै उनले त्यसका लागि राष्ट्रिय सहमति बनाएर अघि बढने प्रयास आफूले गरिरहेको बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

आइतबार ललितपुरको भैंसेपाटीमा निर्माण गरिएको प्रदेश प्रमुख र मुख्यमन्त्रीहरुको निवास उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्रीले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुले पनि आफ्नो क्षेत्रमा सामाजिक न्याय, सुशासन र समृद्धिको क्षेत्रको कामलाई प्राथमिकताका साथ अघि बढाउने विश्वास समेत व्यक्त गरे ।

ललितानिवास प्रकरणको सबै अभियोजन सरकारी वकिलको कार्यालयमा बुझाएको स्मरण गर्दै उनले आजको दिनलाई आफूले सुशासनको पक्षमा एक कदम अगाडि बढेको दिनको रुपमा लिएको पनि बताए । 

“आजको दिन, कस्तो दिन पनि परेको महसुस गरेँ भने ललितानिवास प्रकरणको सबै अभियोजन आज सरकारी वकिल कार्यालयमा बुझाएको दिन परेको छ । सुशासनको पक्षमा हामी एक कदम अगाडि बढ्ने दिन पनि भन्न सकिन्छ,” उनले भने, “र, अन्य कुराहरु पनि त्यसरी अगाडि जानेछन् ।”

प्रधानमन्त्रीले प्रदेशको कामकारबाहीलाई अझ बढी प्रभावकारी बनाउन पनि प्रदेश प्रमुख र मुख्यमन्त्रीहरुको निवास उपयोगी हुने विश्वास व्यक्त गरे । संघीयतामाथि प्रश्न उठाउनेहरुलाई पनि सो निवास निर्माणले बलियो जवाफ दिएको उल्लेख गर्दै उनले संघीयताको संस्थागत विकासमा पनि यसले योगदान पुर्‍याएको बताए ।

प्रधानमन्त्रीले संघीय मन्त्रीहरुको निवासको कामले पनि केही महिनाभित्रै पूर्णता पाउने बताए ।

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  १८:१५
प्रतिक्रिया दिनुहोस्