site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
लुटतन्त्रको अन्त्यको लागि अब जनता सडकमा आउनुपर्छ : कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिले मुलुकमा लुटतन्त्र चलिरहेको भन्दै त्यसको अन्त्यका लागि अब जनता सडकमा आउनुपर्ने आवश्यकता औंल्याएका छन् । 

आगामी भाद्र २९ गते पार्टीले बृहत विरोध प्रदर्शन आयोजना गर्ने सन्दर्भमा आयोजित तयारी बैठकलाई सम्बोधन गर्दै थापाले मुलुकमा अब मौलिक संस्करणको राजासहितको प्रजातन्त्रले मात्र देशलाई जोगाउन सक्नेसमेत बताए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मुलुकको गौरवशाली इतिहास, धर्म संस्कृति पहिचानलाई समाप्त पार्न योजनाबद्ध रूपमा भएका षड्यन्त्रविरुद्ध नयाँ पुस्ता जागरुक हुनुपर्नेमा जोड दिँदै थापाले घिनलाग्दो भ्रष्टाचारको विरुद्धमा आन्दोलनको विकल्प नभएको समेत बताए ।

राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सुदृढीकरण, आर्थिक समृद्धि र सुशासनको निमित्त अहिलेको व्यवस्था र प्रणाली परिवर्तन गर्नुपर्ने थापाको धारणा रहेको छ । 

सीमित दलका सीमित नेताहरूको सेटिङमा राज्य व्यवस्था चल्नु दुर्भाग्यपूर्ण रहेको भन्दै थापाले मुलुकमा विदेशी प्रभाव र दबाब बढ्नुमा नेताहरूकै भूमिका रहेको समेत बताए । 

बैठकमा बोल्दै पार्टीका महामन्त्री राजाराम बर्तौलाले अब पार्टीले सुरु गर्ने आन्दोलनमा नेता कार्यकर्ताको मात्र होइन जनताको समेत समर्थन र सहभागी हुनुपर्नेमा जोड दिए ।

बैठकले विरोध प्रदर्शनलाई व्यवस्थित र प्रभावकारी बनाउन उपाध्यक्ष जयकुमार खड्काको संयोजकत्वमा आर्थिक परिचालन समिति, उपाध्यक्ष तारानाथ लुइँटेलको संयोजकत्वमा जनपरिचालन समिति, सुनिता कुरुंगवाङको संयोजकत्वमा प्रचार–प्रसार समिति, नगेन्द्र देउजाको संयोजकत्वमा स्वंमसेवक समिति गठन गरिएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  १६:३८
प्रतिक्रिया दिनुहोस्