site stats
बाह्रखरी :: Baahrakhari
देश
स्क्रब टाइफसबाट चितवनमा महिलाको मृत्यु
प्रतीकात्मक तस्बिर ।

चितवन । चितवनमा स्क्रब टाइफसबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपुरको कावासोती नगरपालिका–१७ की ४८ वर्षीया महिला रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

चितवन मेडिकल कलेजमा उपचारका क्रममा आज महिलाको मृत्यु भएको कार्यालयका सूचना अधिकारी राम केसीले जानकारी दिए । उनका अनुसार स्थानीय अस्पतालमा उपचारका क्रममा स्क्रब टाइफस पुष्टि भएको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

थप उपचारका लागि आइतबार मेडिकल कलेजमा भर्ना गरिएको थियो । सघन उपचार कक्षमा उपचारका क्रममा उनको मृत्यु भएको केसीले बताए ।

चितवनमा उपचारका लागि आएका बिरामीमध्ये चालु आर्थिक वर्षमा ६७ जनामा स्क्रब टाइफस पुष्टि भएको छ । ६९५ जनाको परीक्षण गर्दा ६७ मा स्क्रब टाइफस पुष्टि भएको सूचना अधिकारी केसीले जानकारी दिए । उनका अनुसार संक्रमितमध्ये २५ जना चितवनका छन् । बाँकी अन्य जिल्लाका छन् ।

केसीले गत आवमा तीन हजार ४८२ जनाको परीक्षण गर्दा ५२८ मा स्क्रब टाइफस संक्रमण देखिएको जानकारी दिए । “यो रोग मुसामा लाग्ने किर्नाजस्तो देखिने किरा (माइट)को टोकाइबाट मान्छेमा सर्दछ,” उनले भने, “माइटमा पाइने ओरेन्सिया सुसुगामुसी भन्ने जीवाणुबाट मानिसमा लाग्ने गर्दछ ।”

यो जीवाणु खेतबारी, वनजंगल, घरवरिपरिको झाडी वा घुरानमा बढी देखिने केसीको भनाइ छ । उनका अनुसार यो रोग मानिसबाट मानिसमा सर्दैन ।

लक्षण
स्क्रब टाइफस लागेमा उच्च ज्वरो आउने, धेरै टाउको दुख्ने, पसिना धेरै आउने, आँखा रातो हुने, झाडापखाला लाग्ने, शरीरका मुख्य अंगहरूले काम गर्न छाड्नेलगायत लक्षण देखिने जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी केसीले बताए । उनका अनुसार समयमा उपचार नगराएमा श्वासप्रश्वासमा समस्या आई बिरामीको अवस्था गम्भीर हुने गर्छ ।

यसको संक्रमणबाट बच्नका लागि खेतबारीमा काम गर्दा वा वनजंगल तथा झाडीमा जाँदा लामो कपडा लगाउने, घाँसबारी वा चउरमा बस्दा गुन्द्री/दरी ओछ्याएर बस्ने, खाटमा वा अग्लो स्थानमा सुत्नेलगायत कार्य गर्नुपर्ने केसीले बताए । रासस

प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  १७:००
प्रतिक्रिया दिनुहोस्