site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
शिक्षा विधेयक : शैक्षिक संस्थादेखि परीक्षा सञ्चालनसम्मका अधिकार स्थानीय तहलाई 

काठमाडौं । सरकारले शिक्षा ऐन २०२८ लाई प्रतिस्थापन गर्नेगरी शिक्षा ऐनसम्बन्धी विधेयक संसद्‌मा दर्ता गरेको छ । 

बुधबार संसद् सचिवालयमा दर्ता भएको विधेयकलाई ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ भनिएको छ । 

सरकारले संसद्‌मा दर्ता गरेको विधेयकमा अहिले सञ्चालनमा रहेका सामुदायिक विद्यालयलाई स्थानीय तहअन्तर्गत सञ्चालन हुने व्यवस्था गरेको छ । यसबाहेक नयाँ सामुदायिक विद्यालय सञ्चालनका लागि, सार्वजनिक शैक्षिक गुठीअन्तर्गत विद्यालय सञ्चालनका लागि पनि स्थानीय तहबाटै स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कम्पनीमा दर्ता भएर सञ्चालिन हुने निजी विद्यालयले पनि शिक्षकहरूको तलब, सुविधा तथा सेवा सर्तसम्बन्धी विधान वा विनियमावली स्थानीय तहबाटै स्वीकृत गरेर लागु गर्नुपर्ने प्रावधान विधेयकमा छ । 

विधेयकमा गरिएको प्रस्तावअनुसार माध्यमिक तहका परीक्षा राष्ट्रिय परीक्षा बोर्डबाट सञ्चालन हुने छन् भने आधारभुत तहका परीक्षा स्थानीय तहले नै सञ्चालन गर्ने छन् ।   

“माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा राष्ट्रिय परीक्षा बोर्डबाट र आधारभूत शिक्षा उत्तीर्ण परीक्षा स्थानीय तहबाट सञ्चालन हुनेछ,” विधेयकको दफा २८ (१) मा भनिएको छ । 

आधारभुत तह उत्तीर्ण परीक्षा अर्थात् कक्षा ५ को परीक्षाको ऐच्छिक विषय स्थानीय तहले र मुल विषय शिक्षा कार्यालयले प्रश्नपत्र बनाउने प्रावधान विधेयकमा छ ।  

विधेयकको दफा २८(२)मा भनिएको छ, “आधारभूत शिक्षा उत्तीर्ण परीक्षाको मूल विषयको प्रश्नपत्र सम्बन्धित शिक्षा कार्यालयले र ऐच्छिक विषयको प्रश्नपत्र स्थानीय तहले राष्ट्रिय मापदण्डको अधीनमा रही निर्माण गर्नेछ ।”

बोर्डको गठनः (१) माध्यमिक शिक्षा उत्तीर्ण परीक्षाको सञ्चालन, व्यवस्थापन, नतिजा प्रकाशन र प्रमाणीकरण गर्न तथा परीक्षाको विषयमा राष्ट्रिय नीति तथा मापदण्ड निर्धारण र गुणस्तर नियन्त्रणको विषयमा परामर्श दिनका लागि राष्ट्रिय परीक्षा बोर्ड रहनेछ ।

माध्यमिक तहको परीक्षा भने राष्ट्रिय परीक्षा बोर्डबाट सञ्चालन हुने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  १४:१९
प्रतिक्रिया दिनुहोस्