site stats
बाह्रखरी :: Baahrakhari
देश
सर्लाहीमा दिउँसोको निषेधाज्ञा हटाइयो, अब राति मात्र

मलंगवा (सर्लाही) । सर्लाहीको सदरमुकाम मलंगवामा पाँच दिनदेखि लगाइएको निषेधाज्ञा दिउँसोलाई निष्क्रिय गरिएको छ भने रातिलाई भने यथावत् राखिएको छ ।  

सर्लाही जिल्ला प्रशासन कार्यालयमा सोमबार बिहान बसेको समन्वय सहजीकरण बैठकले असोज ४ गते बिहीबार राति १० बजेदेखि लगाएको निषेधाज्ञा दिउँसोको समयमा हटाउने तर राति ८ बजेदेखि बिहान ४ बजेसम्मलाई निरन्तरता दिने निर्णय गरेको हो ।  

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

गणेश चतुर्थीको मूर्ति विर्सजन गर्न जाने क्रममा मलंगवामा दुई समुदायबीच झडप भएपछि गएको बिहीबार राति १० बजेदेखि अर्को आदेश नहुञ्जेलसम्मका लागि यहाँ निषेधाज्ञा जारी गरिएको थियो ।

बिहीबार रातिदेखि अशान्त बनेको मलंगवामा गएरातिदेखि अवस्था सामान्य हुँदै गएपछि आजदेखि दिनको निषेधाज्ञा हटाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

दिनमा निषेधाज्ञा आदेश निष्क्रिय गरिए पनि सर्वसाधारणको सुरक्षामा पर्नसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै साविक मलंगवा नगरक्षेत्रभित्र कुनै प्रकारको भेला, जुलुस, बैठक, प्रदर्शन, पोस्टर पर्चाजस्ता प्रचार सामग्री टाँस्न वा लेख्न निषेध गरिएको प्रजिअ यादवले बताए । 

आज निषेधाज्ञा हटाइए पनि मलंगवाको बजार खुलेको छैन भने यातायात, शिक्षण संस्था, सरकारी कार्यालय पनि पूर्णरूपमा बन्द छन् । यता व्यापारीका संघसंगठनले पनि बजार खोल्न आह्वान गरेका छन् । 

निषेधाज्ञा हुँदा पनि घटना हुन थालेपछि आइतबार दिउँसोदेखि स्थानीय प्रशासनले निषेधाज्ञा उल्लंघन गर्ने व्यक्तिलाई पक्राउ गर्न थालेको थियो । निषेधाज्ञा उल्लंघन गरेको आरोपमा पक्राउ परेका व्यक्तिलाई प्रहरीले अहिले पनि हिरासतमा राखेको छ ।

गणेशको मूर्ति विर्सजन गर्न जाने क्रममा गएको बिहीबार घरको छतबाट अर्को पक्षले ढुंगा प्रहार गरेको थियो । ढुंगा लागेर सुरक्षाकर्मीसहित एक दर्जन मानिस घाइते भएका थिए भने छुरा प्रहारबाट सख्त घाइते भएका मलंगवा नगरपालिका–७, मुसैली निवासी रुपेशकुमार यादवको अहिले वीरगञ्जमा उपचार भइरहेको छ । रासस

प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  १३:५३
प्रतिक्रिया दिनुहोस्