site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
शिक्षामन्त्रीले प्रतिनिधिसभामा पेस गरे विद्यालय शिक्षा विधेयक

काठमाडौं । आइतबारको प्रतिनिधिसभा बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० प्रस्तुत भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक कुमार राईले विधेयक सदनमा प्रस्तुत गरेका हुन् ।

यसअघि, सांसद प्रेम सुवालले विधेयकलाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि विरोधको सूचना दर्ता गराएका थिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सांसद सुवालले शिक्षा उत्पादन श्रमसँग जोड्ने शिक्षा नआएको, शिक्षकलाई तालिमको कुरा नआएको साथै शिक्षण पेशालाई आकर्षक बनाउने गरी विधेयक नआएको विरोधको सूचना जानकारी गराउँदै उल्लेख गरे ।

उनले गुणस्तरीय शिक्षा कायम गर्न राष्ट्रिय स्तरमा कक्षा १० मा परीक्षा लिइनुपर्नेमात्र नभई शिक्षकले देश र जनताको हितमा राजनीति गर्न पाउनुपर्ने गरी विधेयक आउनुपर्ने उल्लेख गरे ।

उक्त विरोध प्रस्तावमा शिक्षामन्त्री अशोक राईले ०७५ सालमा मस्यौदा बनेर पनि विधेयक कानुन बन्न नसकेको भन्दै असन्तुष्टि र अनुचित विषयमा संशोधन गरेर परिमार्जनसहित कानुन बनाउने अधिकार सांसदहरुमा निहित रहेको बताए ।

सुवालको विरोध प्रस्ताव बहुमतले अस्वीकार गरेपछि विधेयक सदनमा पेस भएको छ । विधेयक पेस भएसँगै आइतबारको प्रतिनिधिसभा बैठक असोज १६ गते मंगलबार दिउँसो १ बजे बस्ने गरी स्थगिन भएको छ ।

प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  १४:५३
प्रतिक्रिया दिनुहोस्