site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
डिजेल–पेट्रोलका गाडीको आयातमा ठूलो गिरावट, ईभीले लियो ‘लिड’

काठमाडौं । नेपालमा विद्युतीय सवारी(ईभी)को प्रयोग आक्रामक रूपमा बढिरहेको छ । यसको विपरीत, डिजेल–पेट्रोलबाट चल्ने गाडीको आयातमा ठूलो गिरावट देखिएको छ ।

पछिल्लो समय सहरी सडकमा नयाँ–नयाँ ईभीहरू देखिने गरेका छन् । सडकमा मात्रै नभएर गाडीका सोरुमदेखि नेपालकै ठूलो अटो सोमा समेत विद्युतीय गाडीनै प्रमुख आर्कषण बनेका छन् ।

व्यवसायीहरू पनि विद्युतीय गाडीतर्फ बढी केन्द्रित हुन थालेका छन् भने, नयाँ–नयाँ ब्रान्डका ईभी भित्रिने क्रम पनि जारी छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नेपालमा आयात भइरहेका डिजेल–पेट्रोलका गाडी र विद्युतीय गाडीको तुलना गर्ने हो भने गतवर्ष र पछिल्लो दुई महिनामा ईभीले बजार ‘लिड’ गरेको छ ।

गत आर्थिक वर्ष र पछिल्लो दुई महिनामा ईभीको आयात बढी
गत आर्थिक वर्ष २०७९/०८० मा डिजेल–पेट्रोलका गाडीभन्दा बढी विद्युतीय गाडीको आयात भएको छ ।

भन्सार विभागको तथ्यांकअनुसार गत वर्ष दुई हजार ८७२ डिजेल–पेट्रोलका जीप, भ्यान तथा कार आयात भएका छन् । तर, सोही एक वर्षमा आयात भएका ईभीको संख्या भने, चार हजार ५० रहेको छ ।

यस्तै, चालु आर्थिक वर्ष २०८०/०८१ को दुई महिनामा आयात हुनेमा जिवाश्म इन्धनका गाडी भन्दा ईभीकै संख्या बढी छ ।

भन्सार विभागका अनुसार पछिल्लो दुई महिनामा भित्रिएका डिजेल–पेट्रोलका गाडीको संख्या ६९२ छ । यसै अवधिमा भित्रिएका ईभीको संख्या भने, ८९८ रहेको छ ।

झन्डै १५ हजारसम्म थियो आयात
अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा १४ हजार ८७४ वटा डिजेल–पेट्रोलका गाडी आयात भएका थिए । त्यस वर्ष भित्रिएका ईभीको संख्या भने, १ हजार ८०७ मात्रै थियो ।

आर्थिक वर्ष २०७७/०७८ मा १४ हजार ८६४ गाडी नेपाल भित्रिएका थिए । त्यस वर्ष भित्रिएका ईभीको संख्या भने २४९ रहेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।

आथिर्क वर्ष २०७६/०७७ मा भित्रिएका डिजेल–पेट्रोलका गाडीको संख्या १० हजार ३९८ छ । त्यस वर्ष ईभी भने, करिब ६०० को हाराहारीमा भित्रिएको भन्सार विभागको तथ्यांक छ ।

के भन्छन् व्यवसायी ?
नेपालमा पेट्रोलियम पदार्थबाट चल्ने गाडीको आयात घटेको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका उपाध्यक्ष राजनबाबु श्रेष्ठ स्वीकार्छन् ।

पछिल्लो समय उपभोक्ताले पेट्रोलियम भन्दा विद्युतीय गाडीलाई बढी रोजाइमा पारिरहेको उनी बताउँछन् ।

तर, गत आर्थिक वर्षमा पेट्रोलियम पदार्थका गाडीको आयात ठूलो मात्रामा घट्नु पछाडि आयातमा लागेको प्रतिबन्ध पनि महत्वपूर्ण कारण भएको उनले बताए ।

सरकारले विदेशी मुद्रा सञ्चिती घटेको भन्दै गत वर्ष २०७९ को वैशाख १३ गते चारपाङ्ग्रेसहित विभिन्न १० वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो ।

करिब आठ महिनासम्म रहेको उक्त प्रतिबन्धका कारण चारपाङग्रेको आयात रोकिएको थियो ।

“प्रतिबन्धले पनि आयात कम भयो । बैंक तथा वित्तीय संस्थाहरूले पेट्रोलियम गाडीको फाइनान्सिङमा इच्छा कम देखाए र ईएमआई पनि ५० प्रतिशत मात्रै कायम रह्यो,” सिप्रदी ट्रेडिङका सीईओ समेत रहेका श्रेष्ठले भने,

“इन्धनको मूल्य बढेका कारण पनि मानिसहरूले पेट्रोलियम पदार्थका गाडी खरिदभन्दा ईभीतिर बढी चासो दिइरहेका छन् ।”

अर्कातिर ईभीको आयात बढ्नुमा सहज फाइनान्सिङ, न्यून सञ्चालन खर्च र मानिसहरूको आम्दानी घट्नु जस्ता कारण रहेको उनको भनाइ छ ।

“इन्धनको तुलनामा ईभी चलाउँदा खर्च कम छ, मानिसहरूको आम्दानी घटेको छ उनीहरूले सस्तो र दिगो खोजिरहँदा विद्युतीय गाडी रोजिरहेका छन्,” उनले भने ।

प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  २०:४२
प्रतिक्रिया दिनुहोस्