site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेस बोल्नै नसक्ने अवस्थामा पुग्यो : केपी ओली
फाइल तस्बिर।

विराटनगर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस बोल्नै नसक्ने अवस्थामा पुगेको टिप्पणी गरेका छन् । एमाले कोसी प्रदेश कमिटीका नवनिर्वाचित कार्यसमितिका पदाधिकारीको पदस्थापन समारोहमा भाग लिन आएका ओलीले विराटनगर विमानस्थलमा कांग्रेसबारे यस्तो टिप्पणी गरेका हुन् ।

“कांग्रेसको हविगत बोल्नै नसक्ने अवस्थामा पुगेको छ । उ विचरा भएको छ । अहिले मानिसहरुले कांग्रेस कहाँ छ भनेर प्रश्न गर्न थालेका छन्,” ओलीले भने, “देशमा भ्रष्टाचार बढ्दासमेत कांग्रेस बोलेको छैन ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

देशका समसामयिक समस्याबारे कांग्रेसका नेताहरुसमेत नबोलेको देख्दा आफूलाई उदेक लागेको ओलीले सुनाए । 

ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पछिल्ला समयमा भएका भ्रमणहरु अर्थहीन भएको भन्दै मानसरोवरको यात्रा पाप पखाल्नका लागि गरिएको आरोप लगाए । उनले भने, “मानसरोवरसम्मको धार्मिक यात्रा पाप पखाल्नको लागि मात्र भएको हो । कसले कति र कत्रो पाप गरेको छ, घरमा पूजा पनि सोहीअनुरुप लगाए जस्तै हो प्रधानमन्त्रीको भ्रमण ।”

प्रधानमन्त्रीले भारत र चीन भ्रमण गरे पनि त्यसको कुनै सार्थक र ठोस परिणाम नआएको ओलीले बताए । अहिले देशभर साम्प्रदायिक र धार्मिक द्वेष फैलाउने कुचेष्ठा भइरहेको भन्दै ओलीले यो कसैका लागि पनि हितकर नहुने सुनाए । “कसैले उकास्दैमा त्यसको पछि लाग्नु हुँदैन,” उनले भने ।

कोसी प्रदेशको राजनीतिक गतिरोध अन्त्य गर्नको लागि दलहरु मिलेर अघि बढ्नुको विकल्प नभएको उनले बताए । मध्यावधि निर्वाचन भए एमालेले थप सिट बढाउने दाबी गर्दै उनले भने, “आज ४० सिट छ । मध्यावधि भयो भने थप १५ सिट बढ्छ ।”

प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  १२:०२
प्रतिक्रिया दिनुहोस्