site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
पार्टीभित्र निर्वाचनमा नजाऔँ, आफ्नै साथीको मन दुख्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत ढंगले नेतृत्व चयन गर्न पार्टीको उपत्यका विशेष प्रदेश कमिटीलाई निर्देशन दिएका छन् ।

विपक्षी र सञ्चार माध्यमहरुले प्रदेश अधिवेशनहरुमा लडे, भिडे भन्ने खालको गलत सन्देश प्रवाह गरेको दाबी गर्दै ओलीले उपत्यका विशेष प्रदेशले भने सर्वसम्मतिमै नेतृत्व चयन भयो भन्ने सन्देश प्रवाह गर्नुपर्ने बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पार्टीको उपत्यका विशेष प्रदेश कमिटीको प्रथम अधिवेशनलाई शुक्रबार उद्घाटन गर्दै उनले कुरा मिलेन भने स्वस्थ प्रतिस्पर्धा गर्नुस् भनेर आफूले प्रदेश अधिवेशनहरुमा भनेको कुरालाई नसुनेको भन्दै सञ्चारमाध्यमप्रति पनि गुनासो गरे । उनले आफ्नै साथीको मन दुख्ने भएकाले पनि निर्वाचनबाट भन्दा सर्वसम्मतिमै नेतृत्व चयन गर्न उपयुक्त हुने तर्क गरे ।

कसैको पनि मन नदुखाइकन नेतृत्व चयन हुनु भनेको सबैभन्दा उत्तम भएको ओलीको भनाइ थियो । उनले निर्वाचनको नाममा कतिपय ठाउँमा अनुचित काम भएको निष्कर्ष निकाल्दै त्यसो नगर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए ।

“सहमति गर्‍यो भने मन दुख्दैन । मन नदुखाइकन अगाडि बढने काम सबभन्दा राम्रो हो नि त । किन मन दुखाउने ? उठेपछि मन दुख्दो रहेछ,” उनले भने, “यसो म ठाउँठाउँमा हेर्छु, मन दुख्दो रहेछ साथीहरुको । उठेपछि जित्नका लागि अलिक कतिपय ठाउँमा जसोतसो अभ्यास गरेको पनि देखिन्छ । त्यस्तो पनि नगरौँ ।”

अध्यक्ष ओलीले आफूले पार्टीको प्रदेश अधिवेशनहरुमा नेतृत्व चयन गर्नका लागि कुनै पनि खालको निर्देशन नदिएको पनि दोहोर्‍याए ।

प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  १८:३०
प्रतिक्रिया दिनुहोस्