site stats
बाह्रखरी :: Baahrakhari
देश
पृथ्वी राजमार्गको यात्रा सहज र सुरक्षित बनाउन बैठक
फाइल तस्बिर

धादिङ । चाडपर्वको बेला पृथ्वी राजमार्गको यात्रालाई सहज, सुरक्षित र भरपर्दो बनाउन यहाँका जिम्मेवार निकाय एक भएर अघि बढ्ने भएका छन् ।

राजमार्ग विस्तार भइरहेको अवस्थामा सहज ढंगले दुईतर्फी सवारीसाधनको आवतजावतको सुनिश्चितता गर्न जिल्ला प्रशासन कार्यालयसहित तीनवटै सुरक्षा निकाय, यातायात व्यवसायी, सडक आयोजना कार्यालयलगायत निकाय एक भएर अघि बढ्ने मंतगलबार संयुक्त निर्णय गरेका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

राजमार्ग विस्तारका काम गर्ने सिलसिलामा सडक छेउकुनामा राखिएका निर्माण सामग्रीका कारण सवारी आवागमन अवरुद्ध हुन नदिन विभिन्न खण्डमा रहेको खाल्डाखुल्डी तत्काल पुरी सहज बनाउन र आवश्यक स्थानमा ‘स्पिड लाइन’सहित ट्राफिक संकेत, ऐना आदिको प्रबन्ध मिलाउन प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले सम्बन्धित सडक आयोजना तथा निर्माण व्यवसायीलाई निर्देश दिएका छन् ।   

चाडपर्वको समयमा सवारीसाधनमा क्षमताभन्दा बढी यात्रु राख्ने, बढी भाडा असुल गर्नेलगायत गुनासो आउन नदिने गरी आवश्यक संख्यामा सवारीको व्यवस्था गर्न सम्बन्धित व्यवसायी पनि सहमत भएका छन् । चाडपर्वका समयमा मानिसको आवतजावत बढेसँगै सवारी चापसमेत वृद्धि हुने र सवारी दुर्घटना बढ्न सक्ने हुँदा सम्भावित सडक दुर्घटना न्यूनीकरण गर्न यातायात व्यवसायीले सवारीको नियमित प्राविधिक परीक्षण गराई चुस्त अवस्थामा राख्ने, सवारी चालक तथा सहचालकलाई अनुशिक्षण र नियमितरूपमा स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउन पनि निर्देशन दिइएको सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीले जानकारी दिए । 

राजमार्गको यात्रा सुरक्षित बनाउन र सड़क दुर्घटना न्यूनीकरण गर्न प्रहरीले विभिन्न कार्यक्रमसहित नियमित जाँचलाई तीव्र बनाइरहेको छ । चालक सहचालकले मादक पदार्थ सेवन गरेर सवारी हाँकेको भेटिए अभद्र व्यवहारको मुद्दा चलाउने र बढी भाडा असुलेको फेला परे ठगी  गरेको कसुरमा मुद्दा चलाइने धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले बताए । रासस

प्रकाशित मिति: बुधबार, असोज २४, २०८०  ०८:४७
प्रतिक्रिया दिनुहोस्