site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
विदेशबाटै मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने

काठमाडौं । निर्वाचन आयोगले विदेशमा रहेका नेपालीलाई अनलाइन माध्यमबाट मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने व्यवस्था गर्न लागेको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति जारी गरी ‘विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यविधि, २०८०’ को मस्यौदा तयार भएको जानकारी गराएका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“विदेशमा रही मतदाता नामावलीमा नाम दर्ता गर्न बाँकी रहेका नेपाली नागरिकहरूलाई विदेशबाटै मतदाता नामावलीमा नाम दर्ता गर्ने प्रयोजनका लागि ‘विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यविधि, २०८०’ को मस्यौदा तयार भई सुझाव संकलनका लागि आयोगको वेबसाइटमा अपलोड गरिएको छ,” बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ, “उक्त मस्यौदामा आयोगले विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावलीमा नाम दर्ता गर्नका लागि मुलुक तोकी उक्त मुलुकको सम्बन्धित कूटनीतिक नियोगबाट दर्ता गर्ने केन्द्र तोक्ने व्यवस्था रहेको छ । दर्ता गर्ने प्रयोजनका लागि दर्ता कर्मचारी तोक्न आयोगले परराष्ट्र मन्त्रालयलाई लेखी पठाउने व्यवस्था रहेको छ ।”

विदेशमा रहेका नेपाली नागरिकले मतदाता नामावलीमा नाम दर्ता गराउन अनलाइन प्रणालीमार्फत फाराम भरी जैविक (बायोमेट्रिक) विवरण दिन आफूलाई पायक पर्ने स्थान र मिति छनोट गर्न सक्नेछन् । जैविक विवरण दिएपछि सम्बन्धित व्यक्तिको स्थायी ठेगानामा नाम दर्ता गरिने व्यवस्था कार्यविधिको मस्यौदा छ ।

दर्ता भएका व्यक्तिहरूका विवरण अन्तिम मतदाता नामावली प्रकाशन हुने समयमा आयोगमा प्राप्त गरी अद्यावधिकको प्रक्रियामा लैजाने व्यवस्था रहेको प्रवक्ता पौडेलले जानकारी दिएका छन् ।

विदेश वा स्वदेशमा रहेका नेपाली नागरिक, गैरआवासीय नेपाली संघ र अरू सरोकारवालालाई मस्यौदामाथि कात्तिक मसान्तभित्र सुझाव दिन आयोगको आग्रह छ ।

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  १३:२०
प्रतिक्रिया दिनुहोस्