site stats
बाह्रखरी :: Baahrakhari
देश
८ कक्षा नपढेकालाई पनि डिग्रीको सर्टिफिकेट

काठमाडौं । आठ कक्षासमेत पास नगरेका युवालाई मास्टर्स डिग्री पासको नक्कली सटिर्फिकेट बनादिने एक जना प्रहरीको फन्दामा परेका छन् । 

काठमाडौंको महाराजगन्जमा फोटो स्टुडियोको आवरणमा नक्कली शैक्षिक योग्यताका प्रमाणपत्रदेखि नेपाल प्रहरी तथा सेनाको परिचयपत्र, सवारी चालक अनुमति पत्रदेखि अन्य आवश्यक कागजपत्र बनाइदिने धादिङ निलकण्ठ–९ का शालिकराम अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईवी)ले अधिकारीको नक्कली कागजपत्र बनाउने अड्डामा छापा मारी ठूलो मात्रामा सरकारी छाप, नेपाली सेनाको होलोग्राम, नेपाल सरकारको होलोग्राम तथा सरकारी शैक्षिक संस्थाका छापहरु बरामद गरेको छ । 

अधिकारीले महाराजगन्ज चोकैमा कल्की फोटो स्टुडियो खोलेर नक्कली कागजपत्रको धन्दा चलाउँदै आएको सुइँको पाएपछि केही समयदेखि सीआईवीले निगरानी गरेको थियो । 

ब्युरोका प्रवक्ता एसपी जीवन श्रेष्ठले बाह्रखरीसँग भने, “यहाँबाट नक्कली कागजपत्र बनाइन्छ भन्ने हामीलाई सूचना आएको थियो, हामीले निगरानी बढाएका थियौं । तर नेपाली सेनाको प्रमाणपत्र तयार हुनेदेखि नक्कली लाइसेन्स अनि डिग्रि पासको सटिर्फिकेट तयार हुन्छ भन्ने लागेको थिएन । यहाँ त नबन्ने केही कागज पनि रहेनछ ।”

प्रवक्ता श्रेष्ठका अनुसार अधिकारीले नेपाली सेनाको प्रमाणपत्र, सवारी चालक अनुमतिपत्र, एसएसलसीदेखि माथिका सटिर्फिकेट, विभिन्न सरकारी संस्थाहरुको छाप तथा सरकारको होलोग्राम समेत नक्कली बनाएर कारोबार गर्दै आएका थिए । 

एसपी प्रवक्ता भन्छन्, “अधिकारीले कहिलेदेखि यो अवैध धन्दा सञ्चालन गरे,  यसै भन्न सकिँदैन तर उनीबाट बरामद भएका कागजपत्र हेर्दा पुरानो पेसा हुन सक्छ । हामी उनको संजालबारे बुझ्दैछौं ।” 

वैदेशिक रोजगारीमा जानेहरु अधिकारीका विशेष ग्राहक भएको हुन सक्ने प्रहरी आशंका छ । अधिकारीले तयार पारेका नक्कली कागजपत्र वितरण गर्ने र भनेको स्थानमा पुर्याइदिने संखुवासभाका यज्ञराज कार्कीलाई पनि ब्युरोले पक्राउ गरेको छ ।
 

प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०७४  १७:३६
प्रतिक्रिया दिनुहोस्