site stats
बाह्रखरी :: Baahrakhari
देश
भूकम्पपीडितका लागि भारतले दियो रु १६ करोडको राहत सामग्री

काठमाडौं । भारत सरकारले जाजरकोट भूकम्पपीडितका लागि रु १६ करोड बराबरका राहत सामग्री हस्तान्तरण गरेको छ ।

जाजरकोट भूकम्पपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल सरकारलाई हरसम्भव सहयोग गर्ने प्रतिबद्धताअनुरुप आज रु १६ करोडबराबरका आपत्कालीन राहत सामग्रीको पहिलो खेप नेपालगञ्ज विमानस्थलमा उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई हस्तान्तरण गरिएको यहाँस्थित भारतीय दूतावासले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

भारतीय वायुसेनाको विशेष विमानले आज ढुवानी गरेका ११ टनभन्दा बढी राहत सामग्री मन्त्री खड्कालाई हस्तान्तरण गरिएको हो । आज हस्तान्तरित सामग्रीमा त्रिपाल, टारपोलिन सिट, कम्बल र स्लिपिङ ब्याग, पोर्टेबल भेन्टिलेटरलगायत चिकित्सा उपकरण र अत्यावश्यक औषधी छन् ।

भारत सरकारका तर्फबाट नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले ती राहत सामग्री कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माको उपस्थितिमा मन्त्री खड्कालाई हस्तान्तरण गरे ।

आगामी दिनमा राहत सामग्रीका थप खेप नेपाल आइपुग्ने दूतावासले आज साँझ जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । छिमेकीका नाताले नेपालमा भूकम्पबाट प्रभावित भएकालाई हरसम्भव सहयोग गर्न भारत प्रतिबद्ध रहेको जनाइएको छ । रासस

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  १९:५४
प्रतिक्रिया दिनुहोस्