site stats
बाह्रखरी :: Baahrakhari
देश
पुराना सामान लिलामी गर्न वीरको तीन पटक टेन्डर, कसैले इच्छा देखाएनन्

काठमाडौं । झन्डै तीन दशक पुराना प्रयोगविहीन सामान लिलामी गर्न वीर अस्पतालले तीनपटक टेन्डर आह्वान गर्‍यो तर, एउटा पनि टेन्डर परेन । पछिल्लोपटक कात्तिक २१ गते खुलाइएको टेन्डरमा समेत कुनै कम्पनीले चासो नदेखाएपछि अस्पतालले मूल्यांकन रकम घटाएर पुनः सूचना प्रकाशित गर्ने तयारी गरेको छ ।

अस्पतालले प्रयोगविहीन सामग्रीको चार करोड तीन लाख ७४ हजार रुपैयाँ मूल्यांकन गर्दै पहिलोपटक भदौ ११ गते टेन्डर आह्वान गरिएको थियो ।

२१ दिने सो सूचनामा १३ वटा कम्पनीले आवेदन फर्म लिएपनि कुनै कम्पनीले आवेदन नदिएको अस्पताल कर्मचारी बताउँछन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

दोस्रो पटक सोही सूचना असोज ३ गते पुनः ११ दिनको मितिका लागि प्रकाशित गरियो । दोस्रोपटक ६ वटा कम्पनीले आवेदन फर्म लिएपनि आवेदन भने परेन ।

अस्पतालको मूल्यांकन समितिले मूल्यांकन रकम घटाउँदै तीन करोड ९ लाख ४२ हजार कायम गरी तेस्रो पटक कात्तिक २१ गते सूचना जारी गर्‍यो । तर, आवेदन मिति एक दिन बाँकी रहँदा मंसिर ५ गतेसम्म कुनै कम्पनीले आवेदन नदिएको स्टोरका कर्मचारी बताउँछन् ।

Bir-saman-1700571102.jpg

“यसपटक चाहीँ कुनै कम्पनीले चासो देखाउँछन् की हामी ती सामान सल्टाउन सफल हुन्छौँ की जस्तो लागेको छ, हेरौँ नभए फेरि प्रक्रियामा नै गएर लिलाम गर्ने हो,” अस्पताल प्रशासनका उपसचिव बाबुराम घिमिरेले भने ।

लिलामीका लागि संकलन गरिएकोमा झन्डै तीन दशक पुराना एक्सरे मेसिनसँगै, सीटी स्क्यान, पयाथोलोजी मेसिन, आईसीयू, भेन्टिलेटर, तथा डेन्टल बेड, झन्डै २० वटा डायलायसिस मेसिनलगायत छन् ।

त्यस्तै, ठूलो मात्रामा फर्निचर, लामो समयदेखि प्रयोगविहीन बनेका गाडी लगायतका सामग्री पनि वीरले लिलामीमा राखेको छ । २०५२ सालदेखि प्रयोग भएर बिग्रिएका तथा केही मर्मत हुन सक्ने तर, प्रयोगविहीन अवस्थामा रहेका सामान लिलाम गर्न लागिएको हो ।  

मर्मत गरी पुनः प्रयोग गर्न मिल्ने सामान छुट्याएपछि प्राविधिक मूल्यांकन गरी लिलामीको प्रक्रिया अघि बढाइएको अस्पतालका कार्यकारी निर्देशक डा.सन्तोष पौडेलले बताए । कानुनी प्रक्रिया पुर्‍याएर सामान लिलाम गर्न लागेकाले धेरै समय लागेको उनले बताए ।

केही ऐतिहासिक उपकरणहरू भने अस्पतालले नेपाल चिकित्सक संघले सञ्चालन गर्न लागेको ‘एनएमए मेडिकल म्युजियम’ लाई प्रदान गर्ने भएको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  १९:२६
प्रतिक्रिया दिनुहोस्