site stats
बाह्रखरी :: Baahrakhari
देश
माडीमा चक्रशिला स्थापना

भरतपुर । चितवनको माडीमा चक्रशिला (शालिग्राम) स्थापना गरिएको छ । पर्वतको कुश्माबाट ल्याइएको उक्त चक्रशिला माडीको खैरहनीस्थित चक्रतीर्थ धाममा राखिएको छ  ।

बाह्र फिट अग्लो, १० फिट चौडाइ र साढे दुई फिट मोटाइ भएको करिब १५ टनको चक्रशिला कुश्मा नगरपालिका–१, सहश्रधारास्थित कालीगण्डकी नदीको किनारमा नै कुँदेर ल्याइएको नेपाल ललितकला प्रतिष्ठान मूर्तिकला विभागका प्रमुख एवं माडीका स्थानीय मूर्तिकार दिनेश्वर महतोले बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उक्त शिला मंसिर ७ गते हरिबोधनी एकादशी पर्वका दिन प्राणप्रतिष्ठासहित विष्णुहरिहर मन्दिर परिसरमा अनावरण गरिएको चक्रतीर्थ धाम विकास समितिका अध्यक्ष भागीरथ बस्यालले बताए । पर्वतबाट रथयात्रामार्फत चक्रशिला माडी ल्याइएको उनले जानकारी दिए ।

शालिग्राम शिला पाइने नेपालकै दुईमध्येका एक स्थानका रूपमा परिचित माडीको धार्मिक विकास तथा पर्यटनमा यसले थप टेवा पुग्ने स्थानीय पुजारी केदारनाथ सापकोटाले विश्वास व्यक्त गरे । उनका अनुसार कालीगण्डकी नदी र माडीको मगुई खोलामा शालिग्राम पाइन्छ । उनले चक्रशिला स्थापनापछि हेर्न आउने धार्मिक पर्यटकको संख्या बढेको बताए ।

स्थानीय कृष्णबहादुर रानाभाटले देश–विदेशमा रहेका माडीवासीको सहयोगमा चक्रशिला स्थापना गरिएको बताए । उनले यस क्षेत्रलाई चक्रतीर्थ धामका रूपमा विकास गर्न लागिएको भन्दै क्रमशः अन्य संरचना निर्माण गरिने जानकारी दिए । उनले माडीका धार्मिक क्षेत्रलाई समेटेर एकीकृत विकास गर्नुपर्नेमा जोड दिए ।

माडीमा एक दर्जन बढी धार्मिक क्षेत्र छन् । पछिल्लो समय माडीमा राम मन्दिर समेत स्थापना गरिएपछि धार्मिक पर्यटक बढेका छन् । रासस

प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८०  ०९:२१
प्रतिक्रिया दिनुहोस्